एक समय आफ्नो एक्सनबाट ठूलो फ्यान फलोइङ बनाएका अभिनेता विराज भट्ट अचानक भोजपुरी फिल्मतिर हानिएपछि नेपालमा एक्सन फिल्म बन्न नै कमी भयो । अहिले नेपाली फिल्म लभस्टोरी र कमेडीको ह्याङबाट ग्रसित छ । आजभोली एक्सन फिल्म निर्माण गर्न निर्माताहरु जोखिम उठाउन चाहेको देखिँदैन । त्यसैले पनि दर्शकहरु एक्सन फिल्म हेर्न लालायित छन् ।
अभिनेता विराज भट्टले ‘साङ्लो’ फिल्मको घोषणा गर्दा एक्सन फिल्मका पारखीहरु निकै खुसी भएका थिए । अब, यो फिल्म प्रदर्शनको संघारमा छ । आउँदो माघ २४ गतेबाट फिल्म प्रदर्शनमा आउँदैछ । फिल्ममा विराजको अभिनयसँगै निर्माण र निर्देशन पनि छ । उनले पहिलो पटक निर्देशनमा हात हालेका कारण यो फिल्म कस्तो बनेको होला भन्ने कौतुहलता धेरैमा छ ।

पूर्व मिस नेपाल निकिता चाण्डकको डेब्यू फिल्म भएका कारण पनि ‘साङ्लो’ प्रति चासो राख्नेको संख्या ठूलो छ । गएको ६ दिन अगाडि फिल्मको ट्रेलर सार्वजनिक भएको थियो । ट्रेलरमा अभिनेता विराज धमाकेदार एक्सन गर्दै देखिएका छन् । उमेरले ४० नाघे पनि उनले गरेको पावरफूल एक्सनले फिल्मप्रति दर्शकमा झनै प्रतिक्षा बढेको छ । फिल्मले मृगौला तस्करीको कथा भन्छ ।
यूट्युबमा फिल्मको ट्रेलरलाई ९५ प्रतिशत सकारात्मक प्रतिक्रिया मिलेको छ । ७ लाख नजिक भ्यूज रहेको ट्रेलरको कमेन्टमा ६ हजार २ सयभन्दा बढीले प्रतिक्रिया जनाएका छन् । कमेन्ट बक्समा अधिकांशले फिल्मको ट्रेलरले साउथ फिल्मको झल्को दिएको बताएका छन् । अभिनेता विराजलाई नेपाली फिल्मलाई स्वागत गर्दै प्रायः दर्शकले ‘बाघ फर्कियो’ भन्दै सम्बोधन गरेका छन् ।
ट्रेलरको कमेन्ट बक्समा एक दर्शक लेख्छन्, ‘साँच्चै नेपाली फिल्म इन्डस्ट्रीमा धेरैपछि निकै भयानक र राम्रो फिल्म बनेजस्तो लाग्यो । ‘साङ्लो’ को टेलर हेर्दा ।’ त्यस्तै, अर्का दर्शक लेख्छन्, ‘धेरै राम्रो एक्सन फिल्म बनेको रैछ । झारपात हिरोहरुको फिल्म हेर्दाहेर्दै अघाइसक्यो । अब एक्सनमय फिल्म हेर्ने हो ।’ ‘साङ्लो’ प्रति दर्शकको उत्सुकता कति छ भन्ने कमेन्ट बक्स हेर्दा नै थाहा हुन्छ ।
विराज फिल्मको ट्रेलरलाई मिलेको सकारात्मक प्रतिक्रियाले हर्षित भएको बताउँछन् । उनी भन्छन्, ‘फिल्मका लागि हामीले गरेको मिहिनेत दर्शकले रुचाउनुभएको छ । योभन्दा ठूलो खुसी हाम्रो लागि अरु हुनै सक्दैन । ट्रेलर हेरेपछि दर्शकको फिल्मप्रति अझ अपेक्षा बढेको छ । त्यो अपेक्षा फिल्मले पूरा गर्ने विश्वास दिलाउन चाहन्छु । ट्रेलरभन्दा पनि राम्रो फिल्म बनेको छ ।’
विराज र निकितासँगै जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, अमित गिरी, शिशिर भण्डारीलगायतको अभिनय रहेको फिल्ममा शिवम अधिकारीको लेखन, सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी छ ।
ट्रेलर हेर्नुहोस् :-

