अभिनेता अनमोल केसीलाई ‘स्टार’ बनाएको फिल्म ‘होस्टेल’ बाट डेब्यू गरेकी अभिनेत्री हुन्, रिश्ता बस्नेत । फिल्ममा उनको अभिनयको तारिफ भएको थियो । तर, फिल्म सफलताको क्रेडिट भने अनमोलले पोल्टामा पर्यो । यो फिल्मपछि रिश्ताले आधा दर्जन बढी फिल्ममा काम गरिन् । कुनैमा सहायक चरित्र त कुनैमा लिड अभिनेत्री भएर । तर, कुनै फिल्म हिट भएनन् ।
‘एउटा साथी’, ‘आधापेज’, ‘यो कथा हो तिम्रो मेरो’, ‘अर्धकट्टी’ लगायतका फिल्ममा काम गरिसकेकी अभिनेत्री रिश्मा केही वर्षयता भने सेतो पर्दामा देखिएकी छैनन् । लगातार फिल्म असफल भएका कारण उनलाई ‘अनलक्की नायिका’ भन्ने गरिन्छ । अभिनय गरेका कुनै फिल्म सफल नहुँदा उनीमाथि गिनेचुनेका ब्यानरको पनि आँखा पर्न सकेको छैन । उनको हातमा अहिले फिल्म छैन ।
उनलाई अभिनेत्रीमा निर्माता-निर्देशकले नसम्झिए पनि कुनै फिमेल कलाकारको डबिङका लागि भने उनलाई नै सम्झन्छन् । उनले अहिलेसम्म दुई दर्जनभन्दा बढी नेपाली फिल्ममा महिला कलाकारको डबिङ गरिसकेकी छन् । उनलाई कतिपयले ‘डबिङ क्विन’ समेत भन्ने गरेका छन् । ‘चपली हाइट २’, ‘मारुनी’, ‘पासवर्ड’, ‘समर लभ’ लगायतका फिल्ममा उनले डबिङ गरेकी छन् ।
.jpg)
सोमवार टुँडिखेलमा आयोजना हुन लागेको दशौं ‘नेफ्टा फिल्म अवार्ड’ को घोषणा कार्यक्रममा पुगेकी उनले इन्स्टाग्राम स्टोरीमा आफूमाथि बनेको एउटा ट्रोल साझेदार गरेकी छन् । ट्रोलमा उनलाई नेपाली फिल्म इन्डस्ट्रीको ‘डबिङ क्विन’ भनेर सम्बोधन गरिएको छ । उक्त ट्रोल रिश्ताले खुसी हुँदै साझेदार गरेकी छन् । ‘डबिङ क्विन’ बाट अब ‘एक्टिङ क्विन’ पनि बन्ने कि, रिश्ताजी !

