.jpg)
बलिउड सुपरस्टार ज्याकी श्राफलाई नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपाली ढाकाटोपी लगाइदिएकी छन् । ज्याकी श्राफ नेपाली ढाकाटोपीमा ठाटिएको तस्विर मनिषाले ट्वीटर र इन्स्टाग्राममा पोस्ट्याएकी छन् । महाराष्ट्रको एक फार्ममा उनीहरुको भेट भएको हो । मनिषाले सामाजिक सञ्जालमा शेयर गरेको तस्विरमा उनको माता-पितालाई पनि देख्न सकिन्छ ।
पाठेघरको क्यान्सरलाई जितेर नयाँ जीवनको सुरुवात गरेकी अभिनेत्री मनिषा कोइरालाले सामाजिक सञ्जालमा अभिनेता ज्याकी र आफ्नो परिवारसहितको तस्विर साझेदार गर्दै क्याप्सनमा ज्याकीसँग एकसाथ समय विताउन पाएकोमा खुसी व्यक्त गरेकी छन् । उनले स्वस्थ जीवन शैलीको नेतृत्व गर्न कला-संस्कृतिका साथै धेरै हाँसोको सराहना गर्नुपर्ने पनि बताएकी छन् ।
ज्याकी र मनिषा निकै मिल्ने साथी हुन् । यी दुईले ‘सौदागर’, ‘मिलन’, ‘१९४२ अ लभ स्टोरी’, ‘दुष्मनी’, ‘अग्नीसाक्षी’, ‘लावारिस’, ‘युगपुरुष’, ‘ग्रहण’ लगायतका फिल्ममा सँगै काम गरेका थिए । क्यान्सरबाट मुक्त भएपछि स्वास्थ्यमा निकै ध्यान दिने गरेकी मनिषा पछिल्लो पटक सञ्जय दत्त स्टारर फिल्म ‘प्रस्थानम’ मा देखिएकी थिइन् । यसमा ज्याकी श्राफको पनि अभिनय थियो ।
अभिनेत्री मनिषा नेपाल र भारत आउजाउ बाक्लै गरिरहेकी हुन्छिन् । अहिले भने उनी एक फिल्मको शिलशिलामा भारतमा छिन् । एक समय बलिउड फिल्ममा आफ्नो दबदबा कायम गरेकी उनले ‘धर्मा’ नामक नेपाली फिल्ममा अभिनेता राजेश हमालको जोडी भएर पनि काम गरेकी थिइन् । उनको क्यान्सर यात्राबारे लेखिएको ‘हिल्र्ड’ नामक पुस्तक पनि सार्वजनिक भैसकेको छ ।

