अभिनेता निखिल उप्रेतीको रजगज हुँदा नेपाली फिल्ममा प्रवेश गरेका अभिनता विराज भट्टले आफ्नो समयमा कयैन् सुपरहिट फिल्म दिएका छन् । नेपाली फिल्ममा एक्सनमा नयाँ ट्रेन्ड स्थापित गरेका उनलाई हेर्नकै लागि पनि एक समय दर्शकको हलमा भीड लाग्थ्यो । कतिपय उनलाई नेपाली फिल्मका ‘बाघ अभिनेता’ समेत भन्ने गर्दथे । त्यसबेला उनको क्रेज लोभलाग्दो थियो ।
सयको आसपासमा नेपाली फिल्ममा अभिनय गरेका उनी आफ्नो स्टारडमले हलमा दर्शक तान्न छाडेपछि भोजपुरीतिर हानिए । उनकै भनाई सापटी लिने हो भने बाघ ठूलो जंगलमा शिकार गर्न गयो । भोजपुरी मार्केटमा पनि उनले छोटो समयमै आफूलाई ‘स्टार’ को रुपमा उभ्याए । तीन दर्जनभन्दा बढी सुपरहिट भोजपुरी फिल्म दिएका उनी अब नेपाली फिल्ममा फर्किएका छन् ।
उनले ४ वर्ष अगाडि रोज राणा निर्देशित फिल्म ‘जय परशुराम’ बाट नेपाली फिल्ममा पुनरागमन गरेका थिए । तर, यो फिल्म नचल्दा उनको कमब्याक सफल हुन सकेन । त्यसपछि उनले फेरि बैंक ब्यालेन्स बढाउन भोजपुरी फिल्मतिर सोझिए । अब भने विराज नेपाली फिल्मलाई निरन्तरता दिने सोचमा छन् । ४ वर्षपछि उनी फिल्म ‘साङ्लो’ लिएर दर्शकसँग साक्षात्कार गर्दैछन् ।
शुक्रवार सार्वजनिक भएको फिल्मको ट्रेलरलाई दर्शकले निकै मन पराएका छन् । ट्रेलर हेरेपछि दर्शकले ‘बाघ फर्कियो’ भनेका छन् । अभिनेता विराजले आउँदो माघ २४ गते प्रदर्शन हुने फिल्म ‘साङ्लो’ बाट कमब्याक गर्दैगर्दा दर्शकको मनमा एउटा प्रश्न उब्जिएको छ कि उनी अब भोजपुरी फिल्ममा फर्किन्छन् वा फर्किँदैनन् ? कतै नेपाली फिल्मका लागि दुई दिने पाहुना त होइनन् ?
शुक्रवार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा भोजपुरी फिल्ममा फर्किने विषयमा अभिनेता विराजले भने- ‘मैले भोजपुरी फिल्म छाडेको छैन । हालसालै बम्बई पुगेर आएको हुँ । अब नेपाली फिल्ममा चाहिँ निरन्तर काम गर्नेछु ।’ उनले भोजपुरी फिल्मबाट कमाएको पैसाले ‘साङ्लो’ बनाएको पनि बताए । निर्माता, अभिनेता र निर्देशकको रुपमा काम गर्दा प्रेसर हुने उनी बताउँछन् ।

