नेपाली फिल्ममा एक्सनमा नयाँ ट्रेन्ड स्थापित गर्ने अभिनेता हुन्, विराज भट्ट । लामो कपाल, बोल्ड आवाज र सगठित शरीर बोकेर नेपाली फिल्ममा भित्रिएका उनले आफूलाई ‘एक्सन स्टार’ को रुपमा स्थापित गरेका छन् । कुनै समय पोस्टरमा उनको टाउको राखेको भरमा हलमा दर्शकको ठूलो भीड लाग्थ्यो । उनलाई फिल्ममा लिएपछि लगानी सुरक्षित हुने विश्वास निर्मातामा हुन्थ्यो ।
तर, एकै खाले फिल्मका कारण उनको क्रेज विस्तारै खस्कियो । र, पैसाको लोभमा भोजपुरीतिर हानिए । त्यहाँ पनि उनले छोटो समयमा आफूलाई नम्बर वान प्रमाणित गरे । उनको प्रवेश हुँदा भोजपुरी फिल्ममा अभिनेता दिनेशलाल यादव ‘निरहुवा’ को रजगज थियो । विराजको इन्ट्रीले उनको साम्राज्य समेत डगमगाएको थियो । उनले सयभन्दा बढी भोजपुरी फिल्म गरेका छन् ।
तर, भोजपुरी फिल्ममा पनि क्रेज खस्किएपछि उनी पुनः नेपाली फिल्ममा फर्किए । ४ वर्ष अगाडि उनले रोज राणा निर्देशित फिल्म ‘जय परशुराम’ बाट कमब्याक गरेका थिए । तर, यो फिल्मबाट उनको कमब्याक सफल हुन सकेन । फिल्म नचल्दा धेरैले उनलाई बाघ बुढो भएको भन्दै टिप्पणी गरे । अब, एक समयका बाघ अभिनेता विराज भट्ट फिल्म ‘साङ्लो’ लिएर फर्किएका छन् ।
माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको निर्देशन उनी स्वयंले गरेका हुन् । उनको अभिनय र निर्माण समेत रहेको फिल्ममा पूर्व मिस नेपाल निकिता चाण्डक अभिनेत्रीको रुपमा छिन् । शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक भएको छ । जसमा विराजलाई पावरफुल एक्सन गर्दै देख्न सकिन्छ । ट्रेलर हेर्दा ‘साङ्लो’ बाट उनको धमाकेदार कमब्याक हुनसक्ने देखिन्छ ।
फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उद्घोषक नरेश भट्टराईले विराज भट्टलाई ‘बाघ फर्कियो’ भन्दै प्रशंसा गरे । उनकै बोली सापटी लिँदै पत्रकारले विराजलाई प्रश्न गरे, ‘बाघ फर्किएकै हो त ?’ यसको जवाफ विराजले निकै वजनदार दिए । उनले अघोषित रुपमा आफूलाई ‘बाघ’ स्वीकार गर्दै भने, ‘बाघ कहाँ गएको थियो र फर्किनलाई ? बाघ जंगलभन्दा बाहिर गएको थिएन ।’
बाघले शिकार गर्नका लागि केही समय जंगल परिवर्तन गरेको बताउँदै अभिनेता विराजले गर्जिलो आवाजमा अगाडि भने, ‘केही समय बाघ ठूलो जंगलमा गयो । त्यहाँ (भोजपुरी) मा पनि बाघले धेरैलाई लखेट्यो । अब बाघ उता (नेपाली फिल्म) मा फर्किएको छ ।’ उनले आफूले एउटा राम्रो फिल्म बनाउने प्रयास गरेको बताए । फिल्ममा गरेको लगानी फिर्ता हुनेमा उनी आशावादी छन् ।

