Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

फिल्म असफलताको जिम्मेवारी लिन तयार छु : सुशील

फिल्मीखबर, काठमाडौं, 2019/12/30
अभिनेता अनमोल केसीलाई ‘स्टार’ बनाएको फिल्म ‘होस्टेल’ को सिक्वेलबाट डेब्यू गरेका अभिनेता हुन्, सुशील श्रेष्ठ । यो फिल्म रिलिजताका उनको निकै चर्चा भएको थियो । फिल्म पनि बक्सअफिसमा सफल हुँदा उनलाई धेरैले सम्भावना बोकेको अभिनेताको रुपमा लिए । चकलेटी लुक्स, लोभलाग्दो हाइट र आकर्षक शरीरका कारण उनी डेब्यू फिल्मबाटै दर्शकमाझ चिनिएका थिए । 
 
तर, ‘होस्टेल रिर्टन्स’ पछि अभिनेता सुशीलले हिटको सुख प्राप्त गर्न सकेका छैनन् । उनलाई दोस्रो फिल्म ‘सायद २’ बाट निकै ठूलो आश थियो । तर, फिल्मले हलमा पानी भन्न पाएन । यसपछि उनको असफलताको श्रृंखला रोकिएको छैन । उनी अभिनीत फिल्म ‘कारखाना’ र ‘बादशाह जुट’ पनि बक्सअफिसमा पत्तासाफ भएका थिए । न त यी फिल्ममा उनकै अभिनय नै रुचाइयो । 
 
 
डेब्यू फिल्मदेखि नै लुक्सको भरमा अभिनेता बनेको आरोप खेपिरहेका उनी यस वर्षका लागि दोस्रो फिल्म लिएर आउँदैछन् । उनी अभिनीत पछिल्लो रिलिज फिल्म ‘बादशाह जुट’ गएको कात्तिकमा प्रदर्शनमा आएको थियो । अब उनको नयाँ फिल्म ‘लभ डायरीज’ आउँदो फागुन २ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मबाट उनी सफलताको स्वाद चाख्न पाउनेमा विश्वस्त छन् । 
 
‘बादशाह जुट’ रिलिजको बेला उनले निराश स्वरमा भनेका थिए, ‘लगातार फिल्म असफल भएपछि म हतोत्साहित भएको थिएँ । अब फिल्म नगर्ने सोचमा समेत पुगेको थिएँ ।’ तर, अहिले उनमा असफलतासँग भागेर नभइ डटेर सामना गर्ने हिम्मत पलाएको छ । फिल्मको असफलताले निराश बनाउने भए पनि मेहेनत गरे एक दिन सफलता हात पार्न सकिन्छ भन्ने विश्वास उनमा छ । 
 
तर, के उनी फिल्म असफलताको जिम्मेवारी लिन तयार छन् ? सोमवार ‘लभ डायरीज’ को गीत सार्वजनिक कार्यक्रममा पत्रकारको यो प्रश्नको जवाफ दिन उनले सुरुमा आनाकानी गरे । ‘अहिले यो विषयमा कुरा नगरौं’ भन्दै उनी तर्किन खोजे । तर, मिडियाको दबावपछि उनले भने- ‘यदी मेरो कारणले फिल्म असफल भएको हो भने म त्यसको जिम्मेवारी आफ्नो काँधमा लिन तयार छु ।’
Most Visited News (monthly)