Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ट्वीन्स गर्ल’ भन्छन्, ‘हिरोइन हुन नाच्न आएर हुँदैन’

फिल्मीखबर, काठमाण्डौ, 2019/12/30
 
नेपालका टिकटक स्टार हुन्, प्रिज्मा र प्रिन्सी खतिवडा । यी जुम्ल्याहा दिदी बहिनीले एकसाथ बनाएको टिकटक भिडियो लाखौंले हेर्ने गर्दछन् । टिकटकबाटै सेलिब्रेटी भएका उनीहरुले केही म्यूजिक भिडियोमा पनि अभिनय गरिसकेका छन् । यी दुईलाई फिल्ममा लिन चाहने निर्माताको लाइन पनि निकै लामो छ । तर, उनीहरु तत्काल हिरोइन भएर पर्दामा आउने सोचमा छैनन् । 
 
‘ट्वीन्स गर्ल’ प्रिज्मा र प्रिन्सीले फिल्ममा अभिनय गर्ने अफर अस्वीकार गरिरहे पनि आउँदो फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता सुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ डायरीज’ को ‘छमछम’ बोलको गीतमा भने ठुम्का लगाएका छन् । उनीहरुले नेपाली फिल्मको गीतमा नृत्य गरेको यो पहिलो पटक हो । यसकारण पनि यो गीत कस्तो होला भन्ने धेरैमा कौतुहलता थियो । 
 
सोमवार सार्वजनिक गरिएको गीतमा ‘ट्वीन्स गर्ल’ ले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा दुर्गा खरेल र सुरेश लामाको स्वर छ । गीतमा बाल गायिका कमला घिमिरेले गाएको लोक दोहोरीको केही अंश पनि समावेश गरिएको छ । निर्माण टिमले यो गीत खिच्नका लागि लाखौं रुपैयाँ खर्च गरेको छ भने तीन दिन लगाएर खिचिएको थियो । 
 
पहिलो पटक फिल्मको गीतमा नृत्य गरेका भाइरल ‘ट्वीन्स गर्ल’ को अभिनय हेर्न पनि दर्शक आतुर छन् । अभिनेत्री हुने कुनै सोच छ ? ‘लभ डायरीज’ को गीत सार्वजनिक कार्यक्रममा पत्रकारको प्रश्नको जवाफ दिँदै प्रिज्माले भनिन्, ‘अभिनेत्री हुन धेरै क्वालिटी चाहिन्छ । डान्स आएर हुँदैन, अभिनय राम्रो गर्न सक्नुपर्छ । दर्शकको अपेक्षा पूरा गर्न सके मात्र अभिनेत्री हुनुको सार्थकता हुन्छ ।’
 
उनले अभिनेत्री हुने सोच भने बनाएको बताइन् । ‘हामी कहिले अभिनेत्रीको रुपमा आउँछौं थाहा छैन । त्यो समयको हातमा छ,’ प्रिज्मा सुनिइन् । उनी भिडियोमा झैँ फिल्ममा पनि आफूहरु छुटिएर काम नगर्ने बताउँछिन् । उनले भनिन्, ‘दर्शकले हामीलाई रुचाउने नै दुई जनालाई हो । त्यसैले हामी फिल्ममा पनि एकसाथ काम गर्नेछौं ।’ उनको कुरामा प्रिन्सीले पनि सहमति जनाइन् । 
Most Visited News (monthly)