Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘परदेशी २’ मा गायक प्रकाश सपुत हिरो

फिल्मीखबर, काठमाडौं, 2019/12/29
 
२०७२ सालमा प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी’ को सिक्वेलबाट चर्चित लोक गायक प्रकाश सपुतले हिरोको रुपमा डेब्यू गर्ने भएका छन् । ‘बोल माया’ बोलको गीतबाट चर्चामा आएका उनी बाल्यकालदेखि नै हिरो बन्न चाहन्थे । उनी काठमाडौं पनि गायक नभइ हिरो बन्न आएका थिए । अब उनको हिरो बन्ने सपना फिल्म ‘परदेशी २’ बाट पूरा हुने भएको छ । 
 
फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार, निर्देशक रायमाझीले केही दिन अगाडि गायक सपुतसँग फिल्मका लागि कागजी सम्झौता गरिसकेका छन् । यद्यपि, निर्माण टिमले फिल्ममा गायक सपुत अभिनेताको रुपमा अनुबन्ध भएको जानकारी भने दिएको छैन । रोजगारीको शिलशिलामा परदेश गएका युवाहरुको कथाव्यथामा निर्माण हुने फिल्मको छायांकन फागुनबाट सुरु हुनेछ । 
 
फिल्ममा गायक सपुतलाई अभिनेताको रुपमा अनुबन्ध गरेपछि निर्देशक नारायण रायमाझी अब अभिनेत्रीको खोजीमा लागेका छन् । ‘परदेशी’ को अघिल्लो श्रृंखलामा गायक तथा अभिनेता प्रशान्त तामाङ प्रमुख भूमिकामा थिए । सिक्वेलमा भने उनलाई गायक सपुतले रिप्लेस गरेका छन् । ‘परदेशी’ भन्दा अगाडि प्रशान्तलाई लिएर निर्देशक रायमाझीले ‘गोर्खा पल्टन’ बनाएका थिए ।
 
बक्सअफिसमा करीब ७ करोडभन्दा बढीको व्यापार गरेको ‘परदेशी’ को कथावस्तुलाई दर्शकले अत्याधिक रुचाएका थिए । फिल्ममा समावेश गीतसंगीत अझै पनि लोकप्रिय छन् । फिल्ममा प्रशान्तका अलावा रजनी केसी, नरेन खड्कालगायतको अभिनय थियो । अब ‘परदेशी २’ बाट हिरोको रुपमा डेब्यू गर्न लागेका चर्चित गायक सपुतलाई पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ ।
Most Visited News (monthly)