
एक समय नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेका चकलेटी अभिनेता राजबल्लभ कोइराला बैबाहिक जीवनमा बाँधिएको दुई वर्षपछि पिता बन्न लागेका छन् । आइतबार सामाजिक सञ्जालमा श्रीमतीको बेबी बम्पसहितको केही तस्विर साझेदार गर्दै उनले आफू पिता बन्न लागेकोमा खुसी व्यक्त गरेका छन् । साथै, उनले आफू छोरीको पिता बन्न लागेको पनि जानकारी दिएका छन् ।
उनले श्रीमतीसँगको तस्विर साझेदार गर्दै फेसबुकमा लेखेका छन्, ‘हाम्रो बढ्दै गरेको परिवारलाई लिएर उत्साहित छु । कृपया हाम्री सानी राजकुमारीका लागि प्रेम र आर्शिवाद पठाउनुहोला ।’ गएको २ वर्ष अगाडि अभिनेता राजबल्लभले लामो समयदेखि अमेरिकामा बस्दै आएकी प्रतिमा विमलीसँग लगनगाँठो कसेका थिए । उनको श्रीमती विमलीको नेपाल घर झापा हो ।
लभर ब्वाईको छवि बनाएका राजबल्लभ हाल भने नेपाली चलचित्रबाट केहि दूरीमा छन् । उनी पछिल्लो पटक चलचित्र ‘६ एकान ६’ मा देखिएका थिए । करीब ८ वर्ष अगाडि उनी हलिउड चलचित्र ‘हाइवे टु धुम्पुस’ को कामका लागि भन्दै अमेरिका पुगेका थिए । त्यसको केहि समयपछि उनि नेपाल आएर ‘ऋतु’ र ‘६ एकान ६’ चलचित्रमा अभिनय गरेका थिए । बिवाह पछि गत बर्ष उनि नेपाल आएता पनि चलचित्रमा अभिनय भने नगरी अमेरिका फर्केका थिए । उनि सपरिवार अमेरिका बस्दै आएका छन् । उनलाई अझै पर्दामा हेर्न चाहने दर्शक धेरै छन् ।
एक दशक अगाडि उनलाई लिएर फिल्म बनाउन निर्माताबीच ठूलो प्रतिस्पर्धा चल्थ्यो । उनी भएपछि फिल्म हिट हुने विश्वास मेकरमा थियो । तर, सबै फिल्म सफल हुन सकेका थिएनन् । ‘सम्झी दिए पुग्छ’, ‘पहिलो पहिलो माया’, ‘पर्खि बसे’, ‘छोडी गए पाप लाग्ला’, ‘फूल’, ‘अपवाद’ लगायत थुप्रै फिल्ममा उनले जीवन्त अभिनय पस्किएका छन् ।

