
साउथ सुपरस्टार किच्चा सुदीपले हाल प्रदर्शनरत बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘दबंग ३’ मा भिलेनको भूमिका निभाएका छन् । यो फिल्ममा उनी बलीको भूमिकामा छन्, जसका कारण सलमान उर्फ चुलबुल पान्डेको जिन्दगी बदलिन्छ । फिल्ममा उनको भूमिका र अभिनयलाई दर्शकले निकै रुचाएका छन् । तर, फिल्मले भने बक्सअफिसमा कमाल गर्न सकेन ।
‘दबंग ३’ पछि अभिनेता सुदीप भिलेनको भूमिका निर्वाहा गर्न डराएका छन् । हालै उनले तमिल फिल्म ‘मनाडु’ मा भिलेनको भूमिका निर्वाहा गर्न अस्वीकार गरेका छन् । एक फ्यानको ट्वीटको जवाफ दिँदै उनले यो कुराको खुलासा गरेका हुन् । फ्यानले ट्वीट गरेका थिए कि सुदीप ‘मनाडु’ मा भिलेनको भूमिकामा अनुबन्ध भएका छन् । तर, उनले जवाफमा यो कुरा गलत रहेको बताए ।
‘मनाडु’ एक पोलिटिकल थ्रिलर फिल्म हो, जसमा एक्टर सिम्बू प्रमुख भूमिका निभाउँदैछन् । वेन्कट प्रभुले निर्देशन गर्ने यो प्रोजेक्टको गएको वर्ष २०१८ मा घोषणा गरिएको थियो । तर, अभिनेता सिम्बू र निर्माता सुरेश कामाचीबीच झगडा भएपछि फिल्म निर्माण हुन सकेको थिएन । अर्को वर्ष २०२० बाट छायांकन सुरु हुने बताइएको यो फिल्मको दर्शकमाझ व्यग्र प्रतिक्षा भैरहेको छ ।
सुदीपले हिन्दीसँगै तेलुगू, तमिल र कन्नड फिल्ममा काम गरिसकेका छन् । उनकी पहिलो डेब्यू फिल्म ‘ब्रह्मा’ १९९७ मा रिलिज भएको थियो । सन् २००० मा आएको फिल्म ‘स्पर्श’ उनको करियरको टर्निङ पोइन्ट सावित भएको थियो । यो फिल्मको सफलतापछि उनले एक हदसम्म इन्डस्ट्रीमा आफ्नो पहिचान बनाएका थिए । ‘फून्क’ बाट उनले बलिउडमा डेब्यू गरेका थिए ।

