
‘मिस नेपाल’ का ताजधारी सुन्दरीहरु प्रायः ग्ल्यामर फिल्ड (फिल्म) मा आबद्ध छन् । प्रथम ‘मिस नेपाल’ रुबी राणादेखि उषा खड्गी, मलिना जोशी, सृष्टि श्रेष्ठ, जेनिशा मोक्तान, माल्भिका सुब्बा, झरना बज्राचार्य, निकिता चाण्डकसम्मले नेपाली फिल्ममा आफ्नो उपस्थिति जनाइसकेका छन् । ‘मिस नेपाल’ को विजेता भएपछि निर्माता/निर्देशकहरु फिल्मको अफर गर्न पुगिहाल्छन् ।
‘मिस नेपाल’ प्ल्याटफर्मबाट नेपाली फिल्ममा थुप्रै सुन्दरीहरु भित्रिए पनि कसैको सोचेजस्तो सफल भने पाउन सकेका छैन । कति त नेपाली फिल्ममा करिअर सुरक्षित नदेखेर पलायन समेत भैसकेका छन् । ‘मिस नेपाल’ विजेताले नेपाली फिल्ममा खासै राम्रो स्थान बनाउन नसके पनि आकर्षण भने घटेको छैन । नेपाली फिल्ममा प्रवेश गरेकी पछिल्लो ‘मिस नेपाल’ निकिता हुन् ।
तर, केही ताजधारी सुन्दरीहरुलाई भने हिरोइन हुने कुनै रहर छैन । २०१८ की ‘मिस नेपाल’ श्रृङ्खला खतिवडा ‘मिस नेपाल’ को विजेता भएपछि उनलाई फिल्म अफर गर्न निर्माताबीच हानाथाप भएको थियो । तर, उनले आफ्नो लक्ष्य हिरोइन बन्नु नभएको भन्दै फिल्म गर्न अस्वीकार गरिन् । यस वर्षकी मिस नेपाल अनुष्का श्रेष्ठलाई पनि पर्दामा हेर्न चाहने दर्शकको संख्या ठूलो छ ।
तर, उनी पनि फिल्ममा प्रवेश नगर्ने अडानमा छिन् । गएको हप्ता मात्र ‘मिस वल्र्ड’ मा सहभागी भएर फर्किएकी उनले आफूलाई अभिनय गर्ने, हिरोइन बन्ने र पर्दामा आउने कुनै सोच नभएको बताएकी छन् । एक अन्तर्वार्तामा भनेकी छन्, ‘सबैको रोजाईको क्षेत्र एउटै हुँदैन । मलाई हिरोइन भएर पर्दामा आउने मन छैन । तपाईंहरुले मलाई अभिनेत्री भएर पर्दामा आएको देख्नुहुने छैन ।’

