गएको शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘दबंग’ को तेस्रो सिरिजले बक्सअफिसमा सुखद व्यापार गरिरहँदा शुक्रबार बलिउड सुपरस्टार सलमान खानले आफ्नो ५४ औं जन्मदिन सेलिव्रेट गर्दैछन् । उनको जन्म २७ डिसेम्बर १९६५ मा इन्दौरको कल्याणमल नर्सिङमा बिहान १० बजेर ४५ मिनेटमा भएको थियो । उनको वास्तविक नाम अब्दुल रशीद सलीम सलमान खान हो ।
उनलाई धेरैले ‘प्रेम’, ‘सल्लू भाई’, ‘भाईजान’, ‘सुल्तान’ जस्ता उपनामले पुकार्ने गर्छन् । सलीम खान, सलमानका पिता हुन्, जो बलिउडका चर्चित स्क्रिप्ट राइटर समेत हुन् । उनको आमाको नाम सलमा खान हो । पूर्व अभिनेत्री हेलेन उनको सौतेली आमा हुन् । उनका दुई भाई छन्, अरबाज खान र सोहिल खान । यस्तै, सलमानका दुई बहिनी छन्, जसको नाम अलवीरा र अर्पिता हो ।
अभिनेता सलमान खान बाल्यकालदेखि नै माता-पिताको प्यारा थिए । र, चुलबुले पनि । उनको आफ्नी आमा सलमासँग निकै लगाव छ । साथै, पिता सलीम खानसँग पनि उनको निकै राम्रो बोन्डिङ छ । उनीहरु हर मुश्किल समयमा एकअर्कासँग साथ देखिने गर्दछन् । सलीम आफ्नो छोरा सलमानको हरेक मुश्किल घडीमा सपोर्ट र सधैं उनको तागत बनेर उभिएका छन् ।
.jpg)
सलमान खानमाथि धेरै मुद्धा छ, जसका कारण उनी जेल पनि गइसकेका छन् । उनी जेलमा रहँदा उनको परिवारमा निकै चिन्ताको माहोल थियो । उनका पिता सलीम खानले एक अन्तर्वार्तामा भनेका छन्, ‘हिट एन्ड रन केसमा सलमानलाई १८ दिन जेल भएको थियो । त्यसबेला हामी सधैं यही सोच्थ्यौं कि जेलमा सलमान कस्तो होला । त्यो निकै मुश्किल घडी थियो हाम्रो लागि ।’
हिट एन्ड रन केसमा सलमानलाई मुम्बईको ठाणे जेलको कैदी नम्बर ३४३ मा राखिएको थियो । सलीम अगाडि भन्छन्, ‘म एकपटक सलमानलाई भेट्न जेल गएको थिएँ । त्यहाँ पटक-पटक भनिरहेका थिए कि ३४३ लाई यहाँ ल्यायो, त्यहाँ लैजायो, यो-यो गर । म सोचमा परेँ कि यो ३४३ आखिर हो के ? त्यस्तैमा एक प्रहरीले ३४३ आयो भन्यो । मैले फर्किएर हेरेँ त सलमान थियो ।’
उनी अगाडि भन्छन्, ‘मैले सलमानलाई भेट्दा उसको दाह्री निकै बढेको थियो र कपाल पनि विग्रिएको थियो । ऊ आयो र केही समय बसेर आमालाई नरुनु भनेर गयो । ऊ गएपछि आमा सलमा खान निकै रोएकी थिइन् ।’ सलमान आफ्नो माता पितालाई निकै दुःख दिएकोमा लज्जित महशुस गर्ने उनी बताउँछन् । तर, सलमान आफ्नो छोरा भएकोमा सलीम खानलाई गर्व लाग्छ ।

