.jpg)
नेपाली नयाँ वर्ष फिल्म प्रदर्शनका लागि उपयुक्त समय मानिन्छ । त्यसैले नयाँ वर्षमा फिल्म प्रदर्शन गर्न निर्माताबीच ठूलो हानाथाप हुन्छ । गत वर्षको नयाँ वर्षमा ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ प्रदर्शनमा आएका थिए । यस वर्षको अन्तिममा दुई हिट फिल्मको तेस्रो सिरिज एकसाथ प्रदर्शनमा आउँदैछन् । ‘प्रेमगीत ३’ र ‘चपली हाइट ३’ बीच आउँदो चैत २८ गते बक्सअफिसमा भिडन्त हुँदैछ ।
यो मिति सबैभन्दा अगाडि ‘प्रेमगीत ३’ ले रोजेको थियो, छायांकनमा जानुभन्दा अगावै । ‘चपली हाइट ३’ ले छायांकन सुरु भएको पाँच दिनपछि प्रदर्शन मिति घोषणा गरेको थियो । अहिले यी दुई फिल्मको बक्सअफिस भिडन्तलाई लिएर फिल्मवृत राम्रै तातेको छ । कतिपयले फिल्मको हाइप बनाउनका लागि ‘चपली हाइट ३’ टिमले ‘प्रेमगीत ३’ सँग भिड्ने हौवा फैलाएको बताएका छन् ।
तर, निर्माता अर्जुन कुमार यो कुराको खण्डन गर्छन् । मंगलबार फिल्मको इन्डक्ल्याप पार्टीमा उनले भने- ‘‘चपली हाइट’ आफैंमा एक ब्रान्ड फिल्म हो । जसलाई हाइप निर्माण गर्न अरु फिल्मसँग भिडन्तको नाटक गर्नु पर्दैन । अनि अर्को कुरा, नयाँ वर्षमा दुई फिल्म नेपाली बजारले धान्छ । यसलाई भिडन्तको रुपमा नहेरौं । एक मितिमा दुई फिल्म लाग्दैछन् भन्ने हिसाबमा लियौं ।’’
अन्तिम समयमा रिलिज मिति हेरफेर त हुँदैन ? पत्रकारको प्रश्नमा उनले भने- ‘ढुंगामा लेखेर राख्नुस्, फिल्म चैत २८ मै रिलिज हुन्छ । मैले ‘चपली हाइट’ को अघिल्लो सिरिज पनि चैतमै रिलिज गरेको थिएँ । र, यसको तेस्रो श्रृंखला प्रदर्शनका लागि पनि चैत नै रोजेको हुँ ।’ उनी फिल्मको कथा शक्तिशाली रहेको बताउँदै हरेक एक कलाकारले उत्कृष्ट अभिनय पस्किएको दाबी गर्छन् ।

