लगातार फिल्म बक्सअफिसमा असफल भए पनि अभिनेत्री वर्षा सिवाकोटीको व्यस्तता घटेको छैन । ‘नाईं नभन्नू ल २’ बाट अभिनयमा डेब्यू गरेकी यी अभिनेत्रीले यसपछि दुई दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । उनी पछिल्लो पटक फिल्म ‘वीर विक्रम २’ मा देखिएकी थिइन् । तर, दुर्भाग्यको कुरा के छ भने उनले आजसम्म हिटको सुख प्राप्त गर्न सकेकी छैनन् ।
(2)(1).jpg)
‘वीर विक्रम २’ बाट उनलाई निकै ठूलो आश थियो । उनलाई लागेको थियो कि यसले आफ्नो धरमराएको करिअरलाई केही हदसम्म भए पनि सन्तुलनमा राख्नेछ । तर, उनले सोचेजस्तो फिल्मले बक्सअफिसमा कमाल देखाएन । यो फिल्मले हलमा पानी पनि भन्न नपाउँदा उनी निकै निराश भएकी थिइन् । कतिपयले उनको करिअर अब संकटमा परेको समेत भनेका थिए ।
तर, फिल्म असफल भइरहे पनि वर्षाको करिअरमा भने ठूलो असर परेको देखिन्न । ‘लक्का जवान’ को छायांकनपछि फुर्सदमा रहेकी उनको हातमा अहिले दुई फिल्म छ, ‘चालबाज’ र ‘सुदुर’ । ‘चालबाज’ को छायांकनका लागि अहिले उनी दार्जिलिङमा छिन् । यसमा उनको जोडी पुष्प खड्कासँग बाँधिएको छ । यो फिल्मपछि उनी ‘सुदुर’ को छायांकनमा व्यस्त हुनेछिन् ।
फ्लप फिल्मकी धनी वर्षाको हातमा अहिले फिल्म देखेर धेरैले उनलाई ‘फ्लप फिल्मकी हिट हिरोइन’ भन्न थालेका छन् । उनले यसको जवाफ दिँदै ‘जसले जे सोचे नि काम त गर्नै पर्यो’ भन्दै फिल्म ‘चालबाज’ को क्ल्याप बोकेको एक तस्विर सामाजिक सञ्जाल फेसबुकमा साझेदार गरेकी छन् । यसबाट बुझ्न सकिन्छ कि उनलाई अरुले आफ्नोबारे के सोच्छन् भन्नेसँग कुनै प्रवाह छैन ।
हुन पनि आफ्नो बारेमा अरुले के सोच्छन् भनेर घोत्लिन थाल्ने हो भने जीवनमा कहिल्यै अगाडि बढ्न सकिन्न । वर्षा पनि आफ्नो बारेमा जसले जे सोचे पनि काम गर्न नछाड्ने पक्षमा छिन् । उनलाई लाग्छ मिहिनेत गरेपछि प्रतिफल मिठो आउँछ । तर, आजसम्म उनको मिहिनेत फिल्मको संख्या बढाउनका लागि मात्र भएको देखिन्छ । जसले उनको करिअरलाई कुनै फाइदा गरेको छैन । अब उनी फिल्म छनोटमा चुजी हुन आवश्यक देखिन्छ । त्यसो गरे अरुले नराम्रो सोच्न पनि सक्दैन थिए कि वर्षाजी !

