सम्भवतः ‘चपली हाइट’ यौन मनोविज्ञानमा आधारित भएर निर्माण भएको पहिलो नेपाली फिल्म हो । त्यसअघि नेपालमा यो जनराका फिल्म बनेका थिएनन् । रुनाधोना, एक्सन र लभस्टोरी फिल्मकै बोलबाला थियो । एकैखाले फिल्म हेरेर आजित भएका दर्शकलाई नयाँ स्वाद दिन निर्माता अर्जुन कुमारले ‘चपली हाइट’ बनाए । र, फिल्मबाट अभिनेत्री विनिता बरालले डेब्यू गरिन् ।
दीपेन्द्र के. खनालको निर्देशन रहेको ‘चपली हाइट’ रिलिज भएपछि फिल्मको कन्टेन्ट र अभिनेत्री विनिता बरालले दिएको बोल्ड सिनलाई लिएर ठूलो विवाद जन्मियो । प्रायःले यसलाई ‘भल्गर फिल्म’ को रुपमा टिप्पणी गरे । तर, फिल्म विवादमा घेरिए पनि त्यसको असर व्यापारमा रत्ति परेन । निर्माता अर्जुन कुमारले थोरै लगानीमा बनाएको यो फिल्मबाट नसोचेको पैसा हात पारे ।
यो फिल्मपछि नेपालमा यौन मनोविज्ञानमा आधारित भएर अनगिन्ती फिल्म निर्माण भए । तर, दर्शकले कुनै रुचाएनन् । स्वयं ‘चपली हाइट’ को दोस्रो पार्टलाई समेत दर्शकले रिजेक्ट गरे । निर्माता अर्जुन भने फिल्मको सिरिज थप्न रोकिएका छैनन् । आउँदो चैत २८ गते ‘चपली हाइट ३’ रिलिज हुँदैछ । निकेश खड्का निर्देशित फिल्मको गीतबाहेक सबै छायांकन पूरा भैसकेको छ ।
‘प्रेमगीत ३’ सँग बक्सअफिसमा भिड्न लागेका कारण चर्चामा रहेको यस फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अर्पण थापा, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतका कलाकारहरु प्रमुख भूमिकामा छन् । निर्माता अर्जुन अघिल्ला दुई सिरिजभन्दा ‘चपली हाइट ३’ फरक कथामा बनेको बताउँछन् । तर, फिल्ममा दर्शकले सस्पेन्स र थ्रिल दुवै पाउने उनको दाबी छ ।
सुरुमा निर्माता अर्जुनले फिल्मको अफर अभिनेता सौगात मल्ललाई गरेका थिए । तर, विभिन्न कारणले उनी फिल्ममा जोडिन सकेनन् । त्यस्तै, अभिनेत्री स्वस्तिमाको रोल सबैभन्दा अगाडि अभिनेत्री साम्राज्ञी आरएल शाहलाई अफर गरिएको चर्चा छ । उनी फिल्मको नाम परिवर्तन गरेको खण्डमा काम गर्न राजी पनि भएकी थिइन् । तर, उनको सर्त निर्माण टिमले मान्न तयार भएन ।
‘चपली हाइट’ लाई लिएर दर्शकमा नराम्रो सोच बनेका कारण साम्राज्ञीले आफ्नो छविमा असर पर्ने डरले फिल्म नकारेको बताइन्छ । यद्यपि, निर्माण टिमले उनलाई फिल्म अफर गरेको कुरा स्वीकार गरेको छैन । विनिता र परमिता आरएल राणापछि ‘चपली हाइट’ सिरिजमा भित्रिएकी अभिनेत्री स्वस्तिमाको स्वच्छ छवि यो फिल्मको नामले धमिल्याउन सक्ने कतिपयको विश्लेषण छ ।
मंगलबार फिल्मको इन्डक्ल्याप पार्टीमा अभिनेत्री स्वस्तिमाले ‘चपली हाइट ३’ यौन मनोविज्ञानमा नबनेका कारण आफ्नो छविमा असर नपर्ने बताइन् । उनी भन्छन्, ‘यो यौन मनोविज्ञानमा बनेको फिल्म होइन । फिल्ममा भल्गर लाग्ने त्यस्तो कुनै कन्टेन्ट नभएकाले मेरो छविमा असर गर्छ जस्तो लाग्दैन ।’ उनले पहिलो पटक सस्पेन्स-थ्रिलर जनराको फिल्ममा काम गरेकी हुन् ।

