गत वर्षको फिल्म ‘रणवीर’ बाट डेब्यू गरेकी अभिनेत्री हुन्, सुपुष्पा भट्ट । यो फिल्मले बक्सअफिसमा घुँडा टेके पनि उनको अभिनय र सुन्दरता भने निकै रुचाइयो । फिल्म रिलिज अगाडिसम्म उनी अभिनेत्री शुवेक्क्षा खड्काको छाँयामा पर्ने अनुमान गरिएको थियो । तर, नतिजा भने अनुमान विपरित आयो । शुवेक्क्षाभन्दा भूमिका छोटो भए पनि तारिफ सुपुष्पाको भयो ।
‘रणवीर’ पछि उनको नेपाली फिल्ममा माग चुलिएको छ । तर, लिड अभिनेत्रीमा होइन, सहायक अभिनेत्रीको भूमिकामा । उनी पछिल्लो पटक फिल्म ‘छ माया छपक्कै’ मा देखिएकी थिइन् । फिल्ममा उनको जोडी कलाकार जितु नेपालसँग बाँधिएको थियो । यसमा उनको भूमिका छोटो थियो । दीपकराज गिरीको टिमको फिल्म भएका कारण उनी सहर्ष काम गर्न राजी भएकी थिइन् ।
तर, यो फिल्म सफल भए पनि क्रेडिट उनले पाइनन् । यद्यपि, उनी ‘छ माया छपक्कै’ ले आफूलाई दर्शकको ठूलो वर्गमा चिनाउन सफल भएकोमा खुसी छिन् । अब, उनी आउँदो चैत २८ गते फिल्म ‘चपली हाइट ३’ मा देखिँदैछिन् । यसमा उनीसँगै अभिनेत्री स्वस्तिमा खड्का पनि प्रमुख भूमिकामा छिन् । यो फिल्ममा उनी सहायक अभिनेत्रीको रुपमा रहेको कतिपयको अनुमान छ ।
 (1).jpg)
मंगलबार साँझ राजधानीमा आयोजित फिल्मको इन्डक्ल्याप पार्टीमा निर्माता अर्जुन कुमारले फिल्ममा स्वस्तिमा लिड र सुपुष्पा सहायक अभिनेत्री नभएको बताए । उनी भन्छन्, ‘फिल्मको मुल कथा नै दुवैको वरिपरि घुमेको छ । दुवै फिल्मको लिड अभिनेत्री हुन् ।’ उनको छेवैमा रहेकी अभिनेत्री स्वस्तिमा सहायक र लिड भन्ने कुराले एक कलाकारका लागि अर्थ नराख्ने बताउँछन् ।
उनी भन्छिन्, ‘मलाई पनि चौथो/पाँचौ फिल्मसम्म आइपुग्दा धेरैले सहायक अभिनेत्री भन्ने गर्दथे । तर, आफूले राम्रो काम गर्ने हो । एउटा कलाकारका लागि सहायक र लिड नायिका भन्ने कुराले ठूलो अर्थ राख्छ भन्ने मलाई लाग्दैन ।’ उनको कुरामा सहमति जनाउँदै अभिनेत्री सुपुष्पाले फिल्ममा भर्खर प्रवेश गरेका कारण अहिले आफू नोटिस हुने क्यारेक्टर मात्र गरिरहेको बताउँछन् ।
‘म भर्खर फिल्म इन्डस्ट्रीमा आएको हुँ । बेवी स्टेप लिँदा गर्दा मैले नोटिस हुने क्यारेक्टर फोकस गरिरहेको छु । अहिले मलाई लिड अभिनेत्री हुने कुनै लोभ पनि छैन,’ उनी सुनिइन् । तर, सुपुष्पा ‘रणवीर’ मा आफू सहायक अभिनेत्रीको रुपमा रहेको कुरा मान्ने पक्षमा छैनन् । उनी भन्छिन्, ‘‘छ माया छपक्कै’ मा म सहायक अभिनेत्री नै थिएँ । त्यो स्वीकार्छु । तर, ‘रणवीर’ मा होइन ।’’

