 (1)(1).jpg)
एक समयका हिरो रोज राणाले केही फिल्मको निर्देशन पनि गरिसकेका छन् । ‘म छु नी तिम्रो’, ‘टक्कर दुई मुटुको’ मा प्रमुख भूमिका निर्वाहा गरेका उनले ‘मेरो पैसा खोइ ?’ र ‘जय परशुराम’ को क्याप्टेनसिप सम्हालेका थिए । एकसेएक हिट फिल्मको निर्माण समेत गरिसकेका उनी अहिले डेढ दशक अगाडिको ब्लकबस्टर फिल्म ‘खलनायक’ को सिक्वेल निर्माणमा जुटेका छन् ।
यो फिल्मको निर्देशन गोविन्दा सिंह भण्डारीले गर्दैछन् । यसअघि उनले ‘रणवीर’ निर्देशन गरेका थिए । यसमा उनको निर्देशकिय क्षमताको प्रशंसा भएको थियो । उनको कामबाट प्रभावित भएर निर्माता राणाले निर्देशक भण्डारीलाई ‘खलनायक २’ निर्देशन गर्ने जिम्मेवारी दिएका हुन् । माघ दोस्रो हप्ताबाट छायांकन सुरु हुने फिल्मको अहिले स्क्रिप्टलाई अन्तिम रुप लिने काम भैरहेको छ ।
ऋषि न्यौपाने निर्देशित फिल्म ‘खलनायक’ मा एक जमानाका तीन सुपरस्टार अभिनेता राजेश हमाल, विराज भट्ट र निखिल उप्रेतीको प्रमुख भूमिका थियो । तर, यसको सिक्वेलमा यी तीन अभिनेता नदोहोरिने निर्माता राणा बताउँछन् । उनी फिल्ममा अहिलेका चल्तीका अभिनेतालाई लिने तयारीमा छन् । केही अभिनेतासँग फिल्मको विषयमा कुरा भैरहेको उनले बताए ।
‘खलनायक २’ का लागि खलनायकको भने टुंगो लागेको छ । फिल्ममा निर्माता रोज आफैं भिलेनको भूमिकामा देखिने भएका छन् । फिल्मीखबरसँग फोनवार्तामा उनले भने- ‘निर्देशकको आग्रहमा म आफैं भिलेनको भूमिकामा देखिन लागेको हुँ । त्यसका लागि अहिले सुगठित शरीर बनाउन केही दिनदेखि जिम धाइरहेको छु । अहिलेका हिरोसँग भिड्न ५ केजी तौल पनि घटाइसकेँ ।’

