Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 2.83/5.00)
Text size:-
+
-

‘प्रेमगीत ३’ : अब हलमा हेर्न बाँकी के छ ?

फिल्मीखबर, काठमाण्डौ, 2019/12/19
गएको असोजमा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ पछि नेपाली फिल्मको व्यापार उदेकलाग्दो भएको छ । आशा गरिएका फिल्म समेत बक्सअफिसमा पछारिरहेका छन् । जसले गर्दा फिल्म निर्माण र प्रदर्शन गर्न तम्सिएका निर्माताहरु नराम्रोसँग हच्किएको अवस्था छ । अहिले ब्रान्ड बनिसकेका फिल्मका सिरिज र केही सीमित टिमप्रति मात्र दर्शकको विश्वास छ । यस वर्ष नाफा कमाएका फिल्मले यही देखाउँछ । नयाँ नाममा बनेका फिल्महरु डुबेका डुब्यै छन् ।
 
केही वर्षयता वर्षेनी सयको आसपासमा नेपाली फिल्म निर्माण हुन्छन् । जसमध्ये चारदेखि पाँचवटा फिल्मले मात्र निर्मातालाई मुनाफा दिलाउँछन् । बाँकी फिल्मले भित्तामा टाँस्नका लागि बनाइएको पोस्टरको समेत पैसा उठाउँदैनन् । किन नेपाली फिल्मले दर्शकको विश्वास गुमाउँदै गएका छन् ? यसबारे धेरैको एउटै जवाफ आउनसक्छ- ‘राम्रो फिल्म बन्न छाडेर ।’ कलाकार दीपकराज गिरीको भनाइ सापटी लिने हो भने ‘दर्शक मनोरञ्जनको ग्यारेन्टी भए मात्र फिल्म हेर्न हल जान्छन् ।’
 
पछिल्लो समय ब्रान्ड फिल्मका सिरिजलाई मनोरञ्जनको ग्यारेन्टी दिने फिल्मको रुपमा लिने गरिएको छ । यही कोटीमा पर्ने फिल्मको सिरिज हो- ‘प्रेमगीत’ । यो फिल्मका सिरिजले दर्शकको विश्वास जितेको छ । यसको तेस्रो श्रृंखला आउँदो चैत २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्ममा अहिलेका चल्तीका अभिनेता प्रदीप खड्का प्रमुख भूमिकामा छन् । शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङलगायतका कहलिएका कलाकारहरुको पनि फिल्ममा अभिनय छ ।
 
 
तर, ‘प्रेमगीत ३’ प्रति दर्शकको कौतुहलता भने घट्दो छ । यसको दोषी निर्माण टिम स्वयं हो । अहिलेसम्म फिल्मका कलाकारको लुक्सदेखि भूमिकासम्म सबै खुलाइसकिएको छ । फिल्ममा प्रदीप राजकुमारको भूमिकामा छन् । शिव श्रेष्ठले राजाको भूमिका निभाएका छन् । निर्माण पक्षले फिल्मका प्रायः सबै कलाकारको लुक्स छायांकन नसकिँदै एकएक गर्दै सार्वजनिक गरिसकेको छ । पर्दामा हेर्दा दर्शक अब कुनै कलाकारको लुक्स र भूमिका हेरेर सरप्राइज हुने छैनन् ।
 
छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा बनिरहेको यो फिल्म रिलिज हुन अझै ३ महिना बाँकी छ । योबीचमा निर्माण टिमले फिल्मको कुनै कुरा अचल दृश्यमार्फत् देखाउन बाँकी राखेको छैन, जसकारण फिल्मप्रति दर्शकमा चासो मर्दै गएको छ । धन्न ! अहिलेसम्म कथा चाहिँ खुलाइएको छैन । तर, जसरी निर्माण टिम अहिले फिल्मको हरेक एक चिज मिडियामा ल्याएर चर्चा बटुल्न घुँडा धसेर लागिपरेको छ, त्यो हेर्दा चाँडै कथा पनि सार्वजनिक नहोला भन्न सकिन्न !
 
गएको दश दिनदेखि ‘प्रेमगीत ३’ को छायांकन हिमाल पारीको जिल्ला मनाङमा भैरहेको छ । त्यहाँ पुगेपछि निर्माण टिम सस्तो प्रचारको पछाडि नलाग्ने धेरैको विश्वास थियो । तर, चर्चाको भोक चढेपछि कसरी चुप बस्न सकिन्थ्यो र ! बुधबार निर्माता सन्तोष सेनले प्रदीपले क्रिस्टिनालाई घोडामा राखेर डोर्‍याएको तस्विर नै सार्वजनिक गरिदिए । अहिले धेरै कन्फ्यूज छन्, ‘प्रेमगीत ३’ दर्शकलाई हलमा हेर्नका लागि बनाउन लागिएको हो वा मिडियामा दुई दिनका लागि चर्चा बटुल्न ?
 
अहिले फिल्म नचलेर हरिविजोग छ । यो अवस्थामा आश गरिएका फिल्मको पनि सबै कुरा रिलिज अगावै बाहिर ल्याउने हो भने दर्शक किन र के हेर्न महँगो टिकट काटेर हल जाने ? यो सोचनीय विषय हो । ठूलो बजेटमा बन्न लागेको ‘प्रेमगीत ३’ को हरेक एक कुरा सुटिङ सेटबाटै सार्वजनिक गर्दै गर्दा भोली त्यसको असर व्यापारमा नपर्ला भन्न सकिन्न । सस्तो प्रचारको पछाडि लाग्दा करोडौंको लगानी स्वाह् होला है, निर्माताज्यू ! पछि फुर्सदमा पछुताउनुभन्दा अहिले नै सजग भएको राम्रो । 
Most Visited News (monthly)