
गएको एक हप्तादेखि दार्जिलिङमा छायांकन भैरहेको फिल्म ‘चालबाज’ मा कलाकार भित्रने र बाहिरिने क्रम चलिरहेको छ । केही दिन अगाडि नव-अभिनेता अविनाश प्रधानले पारिवारिक कारण देखाउँदै फिल्म छाडेका थिए । उनको ठाउँमा निर्माण टिमले अभिनेता पुष्प खड्कालाई अनुबन्ध गर्यो । अविनाशपछि अभिनेत्री केकी अधिकारीले पनि फिल्म नगर्ने निर्णय लिएकी छन् ।
हातमा परेको फिल्म हत्तपत्त नउम्काउने उनले छायांकनरत फिल्म ‘झिँगेदाउ’ का कारण ‘चालबाज’ छाड्नु परेको हो । शुक्रबार उनी यो फिल्मका लागि दार्जिलिङ पुग्ने तयारीमा थिइन् । तर, ‘झिँगेदाउ’ को निर्धारित समयमा छायांकन नसकिएपछि उनले उक्त फिल्म गर्न असमर्थ भएकी हुन् । यसबीच, निर्माण टिमले उनको ठाउँमा अभिनेत्री वर्षा सिवाकोटीलाई अनुबन्ध गरेको छ ।
अभिनेत्री वर्षा स्वयंले आफू ‘चालबाज’ मा भित्रिएको जानकारी दिइन् । उनले भनिन्, ‘केकी (अधिकारी) दिदीले फिल्म ‘झिँगेदाउ’ को छायांकन नसकिएका कारण ‘चालबाज’ गर्न सक्नुभएन । म उहाँको ठाउँमा भित्रिएकी हुँ ।’ उनले आफ्नो भूमिका राम्रो लागेका कारण फिल्म गर्न तयार भएको बताइन् । उनी यो फिल्मको छायांकनका लागि बिहीबार दार्जिलिङ प्रस्थान गर्दैछिन् ।
अरुण तामाङको लगानी र कैलाश राइको निर्देशनमा बनिरहेको फिल्ममा सौरभ लामाको छायांकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत छ । बुद्दि तामाङ, महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको पनि फिल्ममा अभिनय रहनेछ । फिल्ममा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको जोडी बाँधिनेछ ।

