फिल्म निर्माता छविराज ओझाको चौथो श्रीमतीको रुपमा भित्रिएकी अभिनेत्री शिल्पा पोखरेल अहिले कुन अवस्थाबाट गुज्रिरहेकी छन्, त्यो उनीभन्दा बाहेक अरुले महशुस गर्न पनि गाह्रो छ । २०७३ साल असार २९ गते गुपचुप रुपमा निर्माता ओझासँग विवाह गरेकी उनले यस वर्षको असारमा श्रीमानविरुद्ध प्रहरीमा घरेलु हिंसाको उजुरी दिएपछि दुईको घर झगडा लुक्न सकेन ।
श्रीमान् ओझाले आफूमाथि हातपात गरेको भन्दै शिल्पाले प्रहरीमा घरेलु हिंसाको उजुरी दिएकी थिइन् । प्रहरीले दुईलाई कहिल्यै झगडा नगर्ने कागजी सम्झौता गराएर पठायो । तर, दुईको झगडा ‘परालको आगो’ भएन । दुबै मिडियामार्फत् एकअर्कालाई अरोप लगाउँदै आफ्नो बचाउ गर्न थाले । शिल्पाले छविको घर अब कहिल्यै नटेक्ने प्रण गरिन् । छविले भने घर फर्किन आग्रह गरिरहे ।
.jpg)
शिल्पाले श्रीमान् ओझासँग नबस्ने निर्णय लिँदै आधा अंश मागसहित अदालतमा सम्बन्ध विक्षेदका लागि मुद्धा दर्ता गरिन् । दुईको विवादले दिन-प्रतिदिन उग्र रुप लिँदै गर्दा कथामा नयाँ ट्विस्ट तब आयो जब छविकी जेठी श्रीमती हेमा ओझाले दुबैविरुद्ध प्रहरीमा बहुविवाहको उजुरी दिइन् । उनको उजुरीको आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति माग्यो ।
अदालतले पक्राउ गर्न आदेश दिएपछि छवि र शिल्पा लामो समय फरार भए । जिल्ला अदालतको आदेशविरुद्ध शिल्पा उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगिन् । तर, आफ्नो विपक्षमा फैसला भएपछि उनी जिल्ला अदालतमा हाजिर भएकी थिइन् । जिल्ला अदालत काठमाडौंले उनलाई साधारण तारेखमा छाडेको छ । उनका श्रीमान छवि पनि हालै साधारण तारेखमा छुटेका छन् ।
तर, शिल्पाले बहुविवाहको मुद्धामा अझै ‘क्लिन चिट’ पाएकी छैनन् । जीवनमा नसोचेको घटनासँग लड्दै आएकी उनले मंगलबार साँझ इन्स्टाग्राम स्टोरीमा आफ्नो एक हँसिलो तस्विर राख्दै लेखेकी छन्, ‘गजबको प्रतिस्पर्धा चल्दैछ भाग्य र मबीच । उ जित्न दिँदैन म हार्न जान्दिनँ ।’ उनले लेखेको शब्दमा पीडा र आँटको रंग मिसिएको छ । यसले उनको अहिलेको अवस्था वर्णन गर्छ ।

