.jpg)
चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार केशव भट्टराई र वरिष्ठ कलाकार दीपक क्षेत्रीको दुई दिनको अन्तरमा भएको असामयिक निधनबाट फिल्म क्षेत्र शोकमग्न रहेको अवस्थामा फेरि एक दुःखद खबर प्राप्त भएको छ । वरिष्ठ हास्यकलाकार आनन्द थापाको गए राती ८० वर्षको उमेरमा निधन भएको छ । उनी विगत दुई वर्षदेखि प्यारालाइसिसबाट पीडित थिए ।
फिल्म ‘मनको बाँध’ बाट अभिनय सुरु गरेका उनले ‘कुमारी’, ‘कान्छी’, ‘मायाप्रिती’, ‘अचानक’, ‘वरदान’ लगायत दर्जनौं फिल्ममा काम गरेका छन् । भने, गाईजात्रा महोत्सवमा हास्य व्यंग्य, नाटक तथा टेलिफिल्मको लेखन र निर्देशन समेत गरेका थिए । उनको श्रीमतीसहित ३ छोरा छन् । वरिष्ठ कलाकार थापाको बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी प्राप्त छ ।
उनको निधनप्रति फिल्मकर्मी तथा शुभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत् समवेदन प्रकट गरेका छन् । केही पुराना फिल्मकर्मीहरु भने कलाकार थापालाई श्रद्धाञ्जली दिनका लागि आर्यघाट पुगेका छन् । अहिलेका चल्तीका प्रायः हास्यकलाकारहरु उनलाई आफ्नो गुरु मान्ने गर्दछन् । उनको निधनले नेपाली फिल्म क्षेत्रलाई ठूलो क्षती पुगेको फिल्मकर्मीहरुको भनाई छ ।
फिल्मीखबर डटकम परिवार दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, यस दुःखको घडीमा शोक सन्तप्त परिवारजनप्रति ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी हार्दिक समबेदना व्यक्त गर्दछौं ।

