
बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरले गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘धडक’ बाट बलिउडमा आफ्नो डेब्यू गरेकी थिइन् । यो फिल्म बक्सअफिसमा सुपरहिट साबित भएको थियो । साथै, उनको अभिनयसँगै सुन्दरताको पनि निकै चर्चा भएको थियो । डेब्यू फिल्मबाट नसोचेको सफलता हात पारेकी उनको अहिले बलिउडमा लोभलाग्दो डिमान्ड छ ।
यसबीच, अभिनेत्री जाह्नवी चाँडै दक्षिण भारतीय फिल्ममा डेब्यू गर्न लागेकी छन् । फिल्म ‘अर्जुन रेड्डी’ पछि रातारात लाइमलाइटमा आएको साउथ सुपरस्टार विजय देवरकोन्डासँग उनले रोमान्स गर्नसक्ने बताइएको छ । उनकी आमा दिवंगत अभिनेत्री श्रीदेवीले पनि हिन्दी फिल्मसँगै साउथ फिल्ममा पनि काम गरेकी थिइन् । अब, जाह्नवी पनि आफ्नो आमाको बाटोमा देखिएकी छन् ।
प्राप्त जानकारी अनुसार, जाह्नवी र विजयले फिल्ममा एकअर्कासँग काम गर्नका लागि मञ्जुरी दिइसकेका छन् । तर, फिल्ममा दुईको प्रवेशलाई लिएर कुनै जानकारी दिइएको छैन । फिल्मको नाम ‘फाइटर’ राखिएको छ । फिल्मका लागि कियारा आडवाणी र आलिया भट्ट पहिलो रोजाइ थिए, तर उनीहरुले यो रोल गर्न अस्वीकार गरेपछि निर्माण टिमले जाह्नवीलाई अफर गरेको हो ।
जाह्नवी चाँडै एक सर्ट फिल्ममा देखिँदैछिन् । निर्देशक जोया अख्तरको नयाँ सर्ट फिल्म ‘घोस्ट स्टोरीज’ मा जाह्नवी कपूरले विजय वर्मासँग काम गर्दैछिन् । त्यस्तै, ‘रूही आफ्जा’ फिल्ममा उनी राजकुमार राव र ‘दोस्ताना २’ मा कार्तिक आर्यनसँग रोमान्स गर्दै देखिनेछिन् । अहिले गुञ्जन सक्सेनाको बायोपिकमा काम गरिरहेकी उनको पाइपलाइनमा ‘तख्त र ‘रणभूमि’ फिल्म पनि छन् ।

