Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अस्ताए बोर्ड अध्यक्ष भट्टराई, को हुन् उनी ?

फिल्मीखबर, काठमाडौं, 2019/12/16
नेपाली फिल्म क्षेत्रले फेरि एक अभिभावक गुमाएको छ । आइतबार साँझ नेपाली फिल्म क्षेत्रका चम्किला नक्षत्र केशव भट्टराईको असमायिक निधनले सिंगो फिल्म क्षेत्रलाई ठूलो क्षती पुगेको छ । आफ्नो सम्पूर्ण जीवन नेपाली फिल्मका लागि समर्पित गरेका भट्टराईको आइतबार राती साढे १० बजे निधन भएको हो । हृदयघातका कारण उनको निधन भएको बताइएको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दिउँसो साढे १२ बजेदेखि साढे १ बजेसम्म चलचित्र विकास बोर्डको प्राङ्गणमा राखिँदैछ । 
 
८ महिना अगाडि नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका भट्टराईको परिवारमा एक छोरा र एक श्रीमती छन् । वर्षौदेखि अनामनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका उनले अहिलेसम्म २ सयभन्दा बढी फिल्ममा आफ्नो अभिनय कौशल देखाइसकेका छन् । उनले पछिल्लो पटक अभिनेता सलिनमान बनियाँलाई लिएर फिल्म ‘यात्रा’ बनाएका थिए । यो फिल्म बक्सअफिसमा असफल साबित भएको थियो ।
 
 
‘यात्रा’ भन्दा अगाडि उनले ‘आफ्नो मान्छे’, ‘पाहुना’, ‘ब्रास्लेट’, ‘छोडि गए पाप लाग्ला’, ‘देवर बाबु’ लगायत थुप्रै फिल्म निर्माण गरेका थिए । ‘आफ्नो मान्छे’ ले विश्वज्योती हलबाट पाएको शेयरबाट उनले अनामनगरमा घर किनेका थिए । तर, यो फिल्मपछि निर्माण गरेका फिल्म क्रमशः बक्सअफिसमा असफल हुँदा उनले घर नै बेच्नु परेको थियो । ‘सो सिम्पल’ को असफलतापछि उनले घर बेचेर अनामनगरमै फ्ल्याट भाडामा लिएर बस्न थालेका थिए । 
 
२०२५ साल मंसिर ४ गते ओखलढुङ्गामा जन्मिएका ५४ वर्षीय स्वर्गीय केशव भट्टराईले फिल्ममा प्रवेश गर्नुभन्दा अगाडि ‘सिभिल इन्जिनियर’ पढ्ने सोच बनाएका थिए । तर, आफ्नो प्रप्ताङ्कमा २ नम्बर नपुगेपछि उनले उक्त विषय पढ्ने अवसर गुमाए । यसपछि उनी सिए पढ्न थाले । यसैक्रममा उनले नेपाल विद्युत प्राधिकरणमा काम गर्न थालेका थिए । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएपछि उनले प्राधिकरणबाट राजीनामा दिएका हुन् । 
 
भेट्रान निर्देशक तुलसी घिमिरेसँग भेट भएपछि कलाकार भट्टराईको बाटो मोडिएको थियो । निर्देशक घिमिरेले पहिलो भेटमै उनलाई फिल्ममा अभिनय गर्न सल्लाह दिएका थिए । र, आफ्नो फिल्म ‘कोशेली’ बाट अभिनयमा ब्रेक दिएका थिए । यसमा उनको भूमिका छोटो थियो । फिल्ममा उनले एक अपराधीको भूमिका निर्वाह गरेका थिए । यो फिल्ममा उनले गरेका सबै सिन एक सटमै ओके भएका थिए । यसपछि उनी नेपाली फिल्मबाट टाढा हुन सकेनन् ।
 
‘चिनो, दुई थोपा आशु, दक्षिणा’ लगायतका फिल्ममा काम गरेपछि उनले फिल्म ‘मितज्यु’ मा आएर मुख्य अभिनेताको रुपमा काम गर्ने अवसर पाएका थिए । यो फिल्मपछि उनको अभिनेताको रुपमा माग चुलिएको थियो । नाच्नमा कमजोर मानिने उनलाई त्यसबेला धेरैले ‘नाच्न नजान्ने हिरो’ समेत भन्ने गर्दथे । भट्टराईले पहिलो पटक निर्माण गरेको फिल्म ‘दौतरी’ हो । यो फिल्म ठिकठाक चलेको थियो । उनले बनाएको दोस्रो फिल्म ‘आफ्नो मान्छे’ भने ब्लकबस्टर भयो । 
 
चलचित्र विकास बोर्डको ८ महिने कार्यकालमा भट्टराईले गरेका महत्त्वपूर्ण कार्यहरु
 
कलाकार हुँदै फिल्म निर्माणमा होमिएका केशव भट्टराई २०७५ चैत ७ गते चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए । झण्डै साढे तीन दशक नेपाल फिल्म क्षेत्रमा विताएका उनले यो क्षेत्रका समस्यालाई नजिकबाट केलाउने मौका पाएका थिए । त्यसैले उनी बोर्ड अध्यक्षमा नियुक्त हुँदा फिल्म क्षेत्रमा खुसीको लहर छाएको थियो । उनले बोर्ड अध्यक्षमा रहँदा केही महत्त्वपूर्ण कार्यहरु गरेका छन्, जुन नेपाली फिल्म क्षेत्रले सधैं याद गर्नेछ । 
 
लामो समयदेखि नारा र बहसमा मात्र सीमित रहेको बक्सअफिस प्रणाली उनी अध्यक्षमा नियुक्त भएपछि लागू भएको थियो, मोफसलमा । अहिलेसम्म बक्सअफिस कार्यन्वयन हुन नसके पनि त्यसका लागि उनले देखाएको तदारुकता भने प्रशंसायोग्य छ । राजधानीमा भने उनी बोर्ड अध्यक्षमा नियुक्त हुनुभन्दा अगाडि नै लागू भएको थियो । उनकै कार्यकालमा तीन वर्षदेखि हुन नसकेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ गएको असारमा एकसाथ वितरण गरिएको थियो । 
 
विदेशी फिल्मलाई सकारात्मक विभेदको नीति अबलम्बन गर्नुपर्ने बताउँदै आएका उनले नेपाली फिल्मझैँ विदेशी फिल्म पनि शुक्रबार मात्र प्रदर्शन गर्नुपर्ने निर्णय समेत लिएका थिए । जसकारण बिहीबार रिलिज हुन लागेको बलिउड फिल्म ‘कलंक’ शुक्रबार मात्र नेपालमा प्रदर्शन भएको थियो । विदेशी फिल्म जुनसुकै मितिमा प्रदर्शन हुँदा नेपाली फिल्मलाई असर गर्ने भएकाले उनले विदेशी फिल्मलाई पनि शुक्रबार मात्र प्रदर्शन गर्नुपर्ने निर्णय लिएका थिए । जुन कार्यको फिल्मकर्मीले प्रशंसा गरेका थिए ।
 
तर, वितरक मनोज राठीले स्वतन्त्र व्यापारमा बोर्डले हस्तक्षेप गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्धा हालेपछि जिल्ला अदालतले विदेशी फिल्मलाई जुनसुकै दिन प्रदर्शन गर्न दिन अन्तरिम आदेश जारी गरेपछि अध्यक्ष भट्टराई विदेशी फिल्मलाई शुक्रबार मात्र प्रदर्शन गर्नुपर्ने कुरा नीतिमै समेट्ने तयारीमा थिए । केही दिन अगाडि उनको सक्रियतामा बोर्डले लोकेशन गाइड पुस्तक ‘फिल्मिङ इन नेपाल’ पनि सार्वजनिक गरेको थियो ।
 
फिल्मीखबर डटकम परिवार दिवगत आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, यस दुःखको घडीमा शोक सन्तप्त परिवारजनप्रति ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी हार्दिक समबेदना व्यक्त गर्दछौं । 
Most Visited News (monthly)