दुई दर्जन फ्लप फिल्मपछि अभिनेत्री केकी अधिकारीले गएको असोजमा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ बाट हिटको सुख प्राप्त गरिन् । फिल्म सफलताको क्रेडिट आफ्नो भागमा नपरे पनि एक दशक लामो फिल्मी करिअरमा पहिलो हिट फिल्म पाउँदा केकी कम दंग छैनन् । अहिले उनी ‘झिँगेदाउ’ नामक फिल्ममा व्यस्त छिन् । यसमा उनी फरक भूमिकामा देखिँदैछिन् ।
यो फिल्मपछि उनले फिल्म ‘चालबाज’ गर्दैछिन् । यसमा उनको जोडी अभिनेता पुष्प खड्कासँग बाँधिदैछ । हाल कान्तिपुर टेलिभिजनबाट प्रशारण भैरहेको ‘कमेडी च्याम्पियन’ को पनि उनी निर्मात्री हुन् । फिल्म लगातार बक्सअफिसमा असफल भए पनि अभिनेत्री केकीको व्यस्तता भने लोभलाग्दो छ । फिल्म हातमा नभएको बेला उनी म्यूजिक भिडियोमा पनि व्यस्त हुन्छिन् ।
३१ वर्षीय यी अभिनेत्री अहिले गायक आर्जन पाण्डेको प्रेममा रहेको चर्चा छ । तर, यो कुरा दुईले अहिलेसम्म स्वीकार गरेका छैनन् । आफ्नो समकक्षी अभिनेत्रीहरु भकाभक बैबाहिक जीवनमा बाँधिदै गर्दा केकीलाई पनि अहिले विवाहका लागि परिवारबाट दबाब आउने गरेको छ रे । तर, उनी तत्काल घरबार बसाउने सोचमा छैनन् । उनी अझै फिल्ममा काम गर्न चाहिन्छन् ।
हालै अभिनेत्री ऋचा शर्माको विवाहको पार्टीमा गुलाबी रंगको साडी र ब्लाउज लगाएर पुगेकी उनलाई पत्रकारले सोधे- ‘बिहेको सुरसार गर्ने बेला भएन ?’ उनले हाँस्दै जवाफमा भनिन्, ‘अहिले आफ्नो नजिकका व्यक्तिहरुको लगातार बिहे भैरहेको छ । मेरो लागि यो रिहर्सल पिरियड जस्तो भैरहेको छ । बिहेको मण्डपमा कसरी बस्नुपर्ने रैछ, कसरी बोल्नुपर्ने रैछ भन्ने सिकिरहेको छु ।’
यस वर्षको फागुनमा उनीसँगै फिल्म ‘झिँगेदाउ’ मा काम गरिरहेकी अभिनेत्री आँचल शर्माको पनि विवाह हुँदैछ । केकी भने तत्काल आफू बैबाहिक जीवनमा बाँधिने सोचमा नभएको बताउँछिन् । यो वर्ष कि अर्को वर्ष दुलही हुने तयारी छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘खोइ थाहा छैन कहिले हुन्छ । विवाह हुने पक्का भएपछि पक्कै भन्नेछु । अहिले कुनै सोच बनाएको छैन ।’

