Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक समाजको निर्वाचन : खोइ चल्तीका निर्देशक ?

फिल्मीखबर, काठमाण्डौ, 2019/12/15
के कुनै पनि फिल्म निर्देशक बिना निर्माण हुन सम्भव छ ? आमा बिना सन्तान कल्पना गर्न सकिन्न भनेझैँ निर्देशक बिना फिल्म बन्न पनि सम्भव छैन । फिल्म मूलतः निर्देशकको अभिव्यक्ति हो । निर्देशकको सोच, सीप, सिर्जनशीलता, विषयवस्तुमाथिको पडक र उसको विश्वदृष्टिकोणले नै फिल्मलाई राम्रो वा नराम्रो बनाउँछ । यसकारण नै निर्देशकलाई फिल्मको क्याप्टेन भन्ने गरिन्छ । 
 
पछिल्लो केही वर्षयता नेपाली फिल्म निर्देशकमाथि एउटा गम्भीर आरोप लाग्ने गरेको छ, ‘निर्देशक भनेका मुर्गा अर्थात् निर्माता फसाउन बनेका हुन् ।’ निर्मातालाई करोडौं कमाउने लोभ देखाएर निर्देशक बन्नेहरुको भीड अहिले नेपाली फिल्ममा ठूलो छ । निर्देशकको लहलहीमा लागेर केही नबुझी फिल्ममा करोडौं फसाउने निर्माताहरु अहिले घर न घाटको अवस्थामा छन् । 
 
यीनै फिल्म निर्देशकहरुको हकहित र अधिकार सुनिश्चित गर्नका लागि गठन भएको संस्था हो, चलचित्र निर्देशक समाज । तर, निर्देशक समाज छ भन्ने कुरा तीन वर्षमा हुने अधिवेशनको समयमा मात्र थाहा हुन्छ । अरु समयमा यो संस्थालाई बत्ति बालेर खोज्नु पर्ने अवस्था छ । साह्रो-गाह्रो पर्दा निर्देशकहरुले ‘हाम्रो पनि संस्था छ’ भनेर गर्वका साथ भन्ने दिन आजसम्म आएको छैन । 
 
शनिबार चलचित्र निर्देशक समाजले नयाँ नेतृत्व पाएको छ । आफ्नो प्रतिद्वन्दी सुचित्रा श्रेष्ठ (निर्वतमान अध्यक्ष) लाई एक भोटले हराएर रक्षा सिंह राणा तीन वर्षका लागि निर्देशक समाजको अध्यक्षमा निर्वाचित भएकी छन् । त्यस्तै, राजु अधिकारी र राजेन्द्र कुमार उप्रेती उपाध्यक्ष पदमा निर्वाचित हुँदा महासचिवमा जनकदीप पराजुली र सचिवमा अरुण कुमार प्रधान विजयी भए । 
 
 
रक्षाले निर्देशक समाजको अध्यक्षमा विजयी हासिल गर्दैगर्दा धेरैले कांग्रेसको विजयी भएको मानेका छन् । किनकि, उनी कांग्रेस निकट हुन् । उनको पक्षमा भोट माग्न कांग्रेस नेता तथा फिल्म निर्देशक/निर्माता रोज राणा निर्वाचनको बेला खुलेरै हिँडेका थिए । यसअघि रोजको समर्थनमा रविन्द्र खड्काले चलचित्र कलाकार संघको अध्यक्ष पदमा समेत विजयी हासिल गरेका थिए । 
 
अहिले नेपाली फिल्मसँग सम्बन्धित संघसंस्थाहरु आफ्नो पेशाको बलमा भन्दा राजनीतिक आडमा चल्ने गरेका छन् । यो रोगबाट निर्देशक समाज अछुतो रहने कुरै भएन । तर, शनिबार चलचित्र विकास बोर्डको हलमा भएको निर्वाचनमा अहिलेका चल्तीका निर्देशकहरुलाई देख्नै गाह्रो थियो । २१७ मतदातामध्ये १३५ मात्र मत खस्नुले नै प्रस्ट्याउँछ कि धेरै निर्देशकलाई संघप्रति कुनै चासै छैन । 
 
तीन वर्षे कार्यकालका लागि निर्वाचित भएका पदाधिकारीहरुको नामावली हेर्ने हो भने दर्शकले चिनेका एउटै निर्देशक छैनन् । स्वयं अध्यक्षमा निर्वाचित राणाले पछिल्लो पटक कुन फिल्म निर्देशन गरेकी थिइन् भन्ने कुरा मतदान गर्ने धेरैजसो निर्देशकहरुलाई समेत थाहा थिएन । अन्य पदमा विजयी भएका पदाधिकारीहरु पनि कुन फिल्मका निर्देशक हुन भन्ने कुरा कमैलाई थाहा छ । 
 
निर्देशक समाजको निर्वाचनमा अहिलेका चल्तीका निर्देशकहरु न मतदान गर्न उपस्थित थिए न त कुनै पदमा उम्मेदवारी नै दिएका थिए । दशक अगाडि एक फिल्म गरेर बसेका निर्देशकहरुकै अधिवेशनमा बढी भीडभाड देखिन्थ्यो । त्यसैले निर्देशक समाजको निर्वाचन माहोल हेर्न पुगेका फिल्म क्षेत्रका धेरैजसो व्यक्तिहरु बेरोजगारहरुको संस्था भन्दै कानेखुसी गरिरहेका थिए ।
 
नवनिर्वाचित अध्यक्ष राणाले आफ्नो तीन वर्षे कार्यकालमा निर्देशक समाजलाई निर्देशकहरुको साझा संस्थाको रुपमा अगाडि बढाउने र अहिलेका चल्तीका निर्देशकहरुलाई संघप्रति आकर्षित गर्ने खालका कार्यहरु गर्न आवश्यक छ । अघिल्लो कार्यकालझैं निर्वाचनको बेला मात्र ब्यूँझने हो भने निर्देशक समाजको कुनै औचित्य रहने छैन । रक्षाको कार्यकाल सफल रहोस्, शुभकामना । 
Most Visited News (monthly)