विदेशी फिल्मको कथा पैंचो लिएर नेपाली फिल्म निर्माण हुने गरेको आरोप नेपाली फिल्म क्षेत्रका लागि पुरानो भैसक्यो । वर्षौदेखि आयतित कथामा नेपाली फिल्म निर्माण हुँदै आएका छन् । यसको तात्तातो उदाहरण ‘कोहलपुर एक्सप्रेस’ र ‘लभ स्टेशन’ हुन् । ‘कोहलपुर एक्सप्रेस’ साउथ इन्डियन फिल्म ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी थियो । भने ‘लभ स्टेशन’ को कथा एक टर्किस फिल्मबाट उठाइएको थियो ।
नेपाली फिल्मकर्मी विदेशी फिल्मको कथा चोरेर नेपाली फिल्म निर्माण गर्न मात्र सिपालु छैनन्, विदेशी सेलिब्रेटीको पहिरनको डिजाइन हुबहु नक्कल गरेर बनाइएको पहिरनमा ठाटिन पनि माहिर छन् । अभिनेत्री प्रियंका कार्कीले गएको जेठमा ७२ औं 'कान फिल्म फेस्टिभल' मा सहभागी हुने क्रममा बलिउड अभिनेत्री दीपिका पादुकोणले लगाएको पहिरनको डिजाइन चोरेर बनाइएको ड्रेस लगाएकी थिइन् । जसका कारण उनी ट्रोलको शिकार हुनु परेको थियो ।
यसबीच, फेरि एक नेपाली अभिनेत्रीमाथि बलिउडकी अर्की एक अभिनेत्रीको ‘वेडिङ ड्रेस’ को डिजाइन चोरेर तयार पारिएको पहिरन लगाएको आरोप लागेको छ । साउथ इन्डियन फिल्मको कथा पैंचो लिएर निर्माण भएको फिल्म ‘कोहलपुर एक्सप्रेस’ की अभिनेत्री ऋचा शर्माले गएको शनिबार धमधामसँग प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरिन् । उनले विवाहमा लगाएको पहिरनले धेरैलाई लोभ्याएको थियो ।

तर, उनले विवाहको दिन लगाएको पहिरन बलिउड अभिनेत्री अनुष्का शर्माको ‘वेडिङ ड्रेस’ सँग मिल्दोजुल्दो देखिएको छ । सब्यसाची मुखर्जीले तयार पारेको अनुष्काको विवाहको पहिरन गुलाबी रंगको छ । भुईंसम्म घिस्रिएको लेहंगा फूलको बुटाले भरिएको छ । भने, अनुष्काले घाँटीमा पहिरनसँग मिल्ने न्याक्लेस र कानमा झुम्का लगाएकी छन् । ऋचाको विवाहको पहिरन र अनुष्काको ‘वेडिङ ड्रेस’ धेरै हदसम्म मिलेको देखिन्छ ।
उनले पनि फूलको बुट्टाले भरिएको गुलाबी रंगको लेहंगा पहिरिएकी छन् । भने, ‘वेडिङ ड्रेस’ सँग मिल्ने न्याक्लेस र कानमा झुम्का लगाएकी छन् । उनको विवाहको पहिरन मार्शल मार्शलाले तयार पारेको हो । चोरीको कथामा बनेको फिल्ममा अभिनय गरिसकेकी ऋचालाई जीवनको सबैभन्दा अविस्मरणीय दिनमा पनि बलिउड अभिनेत्रीको ‘वेडिङ ड्रेस’ को डिजाइन चोरेर तयार पारिएको पहिरनमा सजिएको आरोप लागेको छ ।
थर मिल्ने भएका कारण ऋचाले हुबहु अनुष्काको ‘वेडिङ ड्रेस’ जस्तै विवाहको पहिरन डिजाइन गर्न फेसन डिजाइनरलाई भनेकी त थिइनन् ? पहिरन चोरीको आरोप लाग्यो भने ‘दिदी-बहिनी हौं’ भन्ने जवाफ दिन पनि सजिलो ! यद्यपि, उनले विवाहको पहिरन डिजाइन चोरीको विषयमा भने कुनै जवाफ दिएकी छैनन् । बिहीबार उनले राजधानीको ठमेलमा रहेको एक होटलमा विवाहको रिसेप्सन पार्टी लिँदैछन् । दुई वर्ष लामो प्रेम सम्बन्धलाई ऋचाले विवाहमा परिणत गरेकी हुन् ।

