
बलिउड अभिनेत्री दीपिका पादुकोणको प्रमुख भूमिका रहेको फिल्म छपाक’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म एसिड अट्याक सर्वाइभर लक्ष्मी अग्रवालको जिन्दगीमाथि आधारित भएर निर्माण भएको हो । यसमा दीपिका मालती नामकी एक साधारण युवतीको भूमिकामा देखिएकी छन्, जोमाथि केही युवकले एसिड अट्याक गर्छन् ।
फिल्मको ट्रेलर निकै दमदार र इमोसनबाट भरिपूर्ण छ । फिल्ममा एक डाइलग छ, जसमा दीपिका उर्फ मालती भन्छिन्, ‘नाक छैन, कान छैन । झुम्का कहाँ लगाउनु ?’ फिल्मको ट्रेलरमा यस्ता केही मनछुने डाइलग छन्, जसले जो कोहीलाई भावुक बनाउँछ । अभिनेत्री दीपिकाले उस्तै दमदार अभिनय प्रस्तुत गरेकी छन् । उनको लुक्स हुबहु लक्ष्मी अग्रवाल जस्तै छ ।
आफ्नो चरित्रलाई लिएर दीपिकाले केही समय अगाडि भनेकी थिइन्, ‘यो एक निकै महत्त्वपूर्ण कहानी हो र यो वास्तविक घटनामा आधारित छ । यसकारण आशा छ कि यसबाट राम्रो कुरा निक्लनेछ ।’ दिल्ली र मुम्बईमा छायांकन भएको फिल्मलाई मेघना गुलजारले निर्देशन गरेकी हुन् । १० जनवरी २०२० मा रिलिज हुने फिल्ममा विक्रान्त मेसीको पनि अभिनय छ ।
दीपिका पादुकोण पछिल्लो पटक फिल्म ‘पद्मावत’ मा देखिएकी थिइन्, जसमा उनको अभिनयको निकै तारिफ भएको थियो । ‘छपाक’ का अलावा दीपिकासँग विशाल भारद्वाजको फिल्म पनि छ, जसमा उनी अभिनेता इरफान खानसँग देखिँदैछन् । यो फिल्मको आधाभन्दा बढी छायांकन नेपालमा हुने चर्चा छ । उनी चाँडै श्रीमान् रणवीर सिंहसँग फिल्म ‘८३’ मा पनि देखिँदैछिन् ।
ट्रेलर हेर्नुहोस् :-

