Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(12 votes, avg 5.00/5.00)
Text size:-
+
-

चल्न छाडे फिल्म, बन्द हुँदै हल

मनिष अन्जान, काठमाण्डौ, 2019/12/10
वर्षेनी सयभन्दा बढी नेपाली फिल्म प्रदर्शनमा आउँछन् । तर, मुश्किलले चार/पाँचवटा फिल्मले मात्र लगानी उठाउँछन् । बाँकी फिल्मले भित्तामा टाँस्न बनाइएको पोस्टरको पनि पैसा उठाउँदैनन् । केही वर्षयता नेपालमा ब्रान्ड बनिसकेका फिल्मका सिरिज र टिमका फिल्मलाई मात्र दर्शकले पत्याएका छन् । यस वर्ष नाफा कमाएको फिल्मको सूची हेर्ने हो भने पनि यो स्पष्ट हुन्छ ।
 
यस वर्षको बैशाख अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘दाल भात तरकारी’ ले आलोचनाका बावजूद पनि नाफाको व्यापार गर्‍यो । मह जोडीप्रति दर्शकको विश्वास भएका कारण यो फिल्मले बक्सअफिसमा असफल हुनु नपरेको कतिपयको निष्कर्ष छ । यसपछि जेठको पहिलो हप्ता प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ ले पनि लोभलाग्दो कमाई गर्‍यो । 
 
यसपछि तीन महिना (असार साउन र भदौ) कुनै फिल्म चलेनन् । असोजको पहिलो हप्ता प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘कबड्डी’ को तेस्रो सिक्वेलले बक्सअफिसमा धूम मच्चायो । प्रदर्शनको ५१औं दिनसम्ममा १३ करोडभन्दा बढी कमाउँदै ‘कबड्डी ३’ यस वर्षको ब्लकबस्टर फिल्म साबित भयो । यसको करीब २० दिनपछि फिल्म ‘छ माया छपक्कै’ प्रदर्शनमा आएको थियो । 
 
यसअघि पाँचवटा ब्लकबस्टर फिल्म दिएको दीपकराज गिरीको समुह यो पटक पनि सफलताको स्वाद चाख्नबाट बञ्चित भएन । यो फिल्मले प्रदर्शनको ५१औं दिनसम्ममा १४ करोडको आसपास व्यापार गर्दै वर्षकै सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड बनाएको छ । तर, असोजले बिदा मागेसँगै नेपाली फिल्मको व्यापार पूरै सुस्ताएको छ । कुनै फिल्मले हलमा दर्शक तान्न सकेका छैनन् । 
 
यस वर्ष निकै आश गरिएका फिल्ममध्ये ‘वीर विक्रम २’, ‘रातो टीका निधारमा’, ‘हजार जुनीसम्म’, ‘मारुनी’, ‘जाइरा’, ‘पोइ पर्‍यो काले’, ‘घामड शेरे’, ‘चच हुई’, ‘माछा माछा’ ले बक्सअफिस तताउने ठूलो अपेक्षा थियो । तर, कुनैले न राम्रो व्यापार गर्न सके न त दर्शकलाई सन्तुष्ट बनाउन नै ! अहिले हल दर्शक नभएर चकमन्न छ । प्रायः सिंगल थिएटर (हल) बन्द हुने अवस्थामा छन् ।
 
 
अभिनेता दीपकराज गिरीले हालै फेसबुकमा एउटा व्यांग्यात्मक स्टाटस लेखेका थिए, ‘केटा केटीहरू । डेटिङका लागि सुनसान ठाँउ चाहिएको छ ? आजकल जुनसुकै फिल्म हलमा गए पनि हुन्छ । हरिबिजोग डटकम ।’ उनको यो स्टाटसले पनि अहिले हलमा फिल्म हेर्ने दर्शक नभएको प्रस्ट्याउँछ । कतिपय फिल्मको व्यापार ठन्डाराम हुनुको कारण चिसो मौसमलाई माग्छन् । 
 
तर, हल सञ्चालक तथा वितरक गोपालकाजी कायस्थ अहिले फिल्म चल्न छाड्नुको कारण चिसो मौसमलाई मान्दैनन् । उनी भन्छन्, ‘फिल्म राम्रो छ भने दर्शकलाई मौसमले हल जान रोक्दैन । गएको दुई हप्ता पछाडि बलिउड फिल्म ‘दबंग ३’ आउँदैछ । त्यो फिल्म हेर्न दर्शकलाई जाडोले रोक्दैन । अहिले कि स्टारडम भएका कलाकारको फिल्म चल्छ कि त ठूला ब्यानरका ।’
 
उनी बुधबारबाट जडिबुटीमा रहेको पुष्पाञ्जली हल बन्द गर्दैछन् । हजार सिट क्षमताको हलमा फिल्म हेर्न ३ जना पनि दर्शक नहुने उनी बताउँछन् । उनी भन्छन्, ‘अहिले हल सञ्चालक झिँगा धपाएर बस्न बाध्य छन् । आश गरेका फिल्म समेत चलेका छैनन् । हलमा कर्मचारीलाई तलब दिन गाह्रो भैसकेको छ । झिँगा धपाएर बस्नुभन्दा बुधबारबाट हल नै बन्द गर्दैछु,’ उनले भने । 
 
‘प्रसाद’ फेम्ड निर्देशक निर्देशक दिनेश राउत राम्रो फिल्मलाई दर्शकले सधैं साथ दिने बताउँछन् । माघ २४ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘सेल्फी किङ’ का निर्माता समेत रहेका उनले भने- ‘अहिले कुन चाहिँ फिल्म चल्नुपर्ने जस्तो आएको छ र चल्नु ? चिसो त अघिल्लो वर्ष पनि थियो । चिसो मौसमका कारण दर्शक फिल्म हेर्न हल नगएका होइनन् । फिल्म नै राम्रो नआएर हो ।’ 
 
निर्देशक राउतको भनाईमा अभिनेता तथा निर्माता दीपकराज गिरी पनि सहमति जनाउँछन् । दर्शक मनोरञ्जनको ग्यारेन्टी भए मात्र हल जाने उनको तर्क छ । ‘अहिले बनिरहेका ८० प्रतिशत फिल्मले दर्शकको टाउको दुखाउँछ । म आफैंं प्रिमियरमा जाँदा उकुसमुकुस हुन्छु । कतिबेला निस्केर घर जाउँ जस्तो हुन्छ । दर्शकलाई झन् फिल्म हेर्न कति गाह्रो हुन्छ होला,’ उनी सुनिए । 
 
अहिले दर्शकले ब्रान्ड बनिसकेका फिल्मका सिरिज र टिमका फिल्म मात्र हेर्न थालेको उनको भनाई छ । उनी भन्छन्, ‘गत वर्षको फिल्म ‘ए मेरो हजुर ३’ देखि नै कुरा गर्ने होे भने यो फिल्मको सिरिजप्रति दर्शकको विश्वास थियो र चल्यो । त्यसपछि ‘जात्रै जात्रा’ र ‘कबड्डी ३’ आफैंमा राम्रा फिल्म थिए र चले । दर्शकको हाम्रो टिममाथि विश्वास भएका कारण ‘छ माया छपक्कै’ चल्यो ।’ 
 
मनोरञ्जनको ग्यारेन्टी गर्न नसक्ने फिल्मलाई दर्शकले साथ नदिने उनको कथन छ । अहिले फिल्म नचल्नुको कारण पनि उनी यही मान्छन् । चिसो मौसम कुनै कारण हुनसक्छ ? फिल्मीखबरको प्रश्नमा उनले भने, ‘बिहानी र रात्री सोजमा केही हदसम्म असर गर्छ तर दिवा सोजलाई गर्दैनन् । अहिले दिउँसो पनि  हलमा दर्शक छैनन् । यसको कारण फिल्म राम्रो नभएरै हो हुन् ।’
 
आश गरिएका फिल्म समेत नचल्दा अहिले फिल्म निर्माण र प्रदर्शन गर्न लागेका निर्माताहरु नराम्रोसँग तर्सिएका छन् । गत वर्ष दशैंपछि कुनै नेपाली फिल्म नचल्दा फिल्म क्षेत्र धरासायी हुने अवस्थामा पुगेको थियो । यो अवस्था यस वर्ष पनि दोहोरिने देखिएको छ । गुणस्तर फिल्ममा जोड नदिने हो भने नेपाली फिल्म क्षेत्रमा चाँडै संकटकाल घोषणा गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । 
Most Visited News (monthly)