
अभिनेत्री सुमी मोक्तानले लिड रोलमा ब्रेक पाएको पहिलो फिल्म हो, ‘सरौतो’ । यसअघि केही फिल्ममा सहायक भूमिकामा देखिए पनि उनलाई लिड रोलमा भने कसैले पत्याएका थिएनन् । ‘सरौतो’ मा निर्देशक हरि हुमागाईंले उनलाई एक्सन अवतारमा प्रस्तुत गरे । आफूलाई एक्सनमा ढाल्न उनले डेढ वर्ष मार्सल आर्टस्को तालिम लिइन् । भने, सात महिना सांकेतिक भाषा सिकिन् ।
दुई वर्षभन्दा बढी मेहनत गरेको फिल्म ‘सरौतो’ ले आफूलाई अभिनेत्रीको रुपमा स्थापित गर्नेमा सुमी आशावादी थिइन् । तर, गएको हप्ता प्रदर्शनमा आएको फिल्मले हलमा दर्शक तान्न नसक्दा उनलाई पहिलो गाँसमै ढुंगा लागेको छ । यद्यपि, उनले फिल्मका लागि गरेको मेहनत भने पर्दामा देखिएको थियो । फिल्म हेर्नेले उनको एक्सनको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
अभिनयले दर्शक रिझाउन नसके पनि उनको एक्सन भने निकै रुचाइएको थियो । फिल्ममा उनले बहिरा युवतीको भूमिका निभाएकी थिइन् । धेरैले उनलाई एक्सनमा सम्भावना बोकेको अभिनेत्रीको रुपमा लिएका छन् । तर, डेब्यू फिल्मले भित्तामा टाँस्न बनाइएको पोस्टरको पनि पैसा उठाउन नसक्दा उनलाई नयाँ फिल्म अफर हुने हो वा होइन ? भन्ने चासो सुरु भएको छ ।
‘सरौतो’ सफल भएको हुन्थ्यो भने सुमीलाई फिल्ममा लिन निर्माताबीच हानाथाप हुन्थ्यो । तर, यो फिल्मको असफलताले उनले आफूलाई राम्रो एक्सन गर्नसक्ने अभिनेत्रीकोे रुपमा प्रमाणित गरे पनि पुनः एक्सन फिल्मबाटै अफर हुनेमा शंका उब्जिएको छ । त्यसमाथि नेपालमा महिला केन्द्रित एक्सन फिल्म कमै बन्छन् । मेकरले सुमीलाई एक्सन फिल्ममा लिने आँट गर्लान् त ?

