Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 5.00/5.00)
Text size:-
+
-

निकिताको नृत्य रुचाइयो, अभिनय कस्तो होला ?

फिल्मीखबर, काठमाडौं, 2019/12/05
अभिनेता विराज भट्टले निर्देशनमा डेब्यू गरेको फिल्म ‘साङ्लो’ बाट अभिनयमा डेब्यू गर्दैछिन्, पूर्व मिस नेपाल निकिता चाण्डक । साइन गरेको हिसाबमा भने उनको यो दोस्रो फिल्म हो । यसअघि उनले मिस नेपालको एक वर्षे कार्यकाल सकाए लगत्तै फिल्म ‘रानी महल’ साइन गरेकी थिइन् । तर, निर्माता र निर्देशकबीचको मनमुटावपछि फिल्मको आधा छायांकन नसकिँदै थन्कियो । 
 
 
पहिलो गाँसमै ढुंगा लागेपछि उनी तत्काल नयाँ फिल्म गर्ने मनस्थितिमा थिइनन् । उनले अभिनय सिक्ने सोच बनाएकी थिइन् । तर, त्यही बेला उनलाई अभिनेता विराजले फिल्म अफर गरे । सुरुमा उनी फिल्म नगर्ने निर्णयमा नै अडिग थिइन् । तर, स्क्रिप्ट सुनेपछि उनले फिल्म नकार्न सकिनन् । र, अभिनेता विराज भट्टको जोडी बन्न तयार भइन् । आउँदो माघ २४ मा फिल्म रिलिज हुँदैछ । 
 
गएको बिहीबार ‘साङ्लो’ को पहिलो गीत ‘चरीले काफल टिप्यो’ सार्वजनिक भयो । इन्टरनेट रिलिजको ६ दिनमा नै १० लाखभन्दा बढी पटक हेरिएको यो गीतमा निकिताको नृत्य र हाउभाउको दर्शकले मुक्तकण्ठले प्रशंसा गरेका छन् । धेरैले गीतबाटै उनलाई सम्भावना बोकेको अभिनेत्रीको रुपमा समेत लिएका छन् । गीतमा निकिता र विराजको जोडी पनि निकै मन पराइएको छ । 
 
गीत सार्वजनिक भएपछि धेरैमा निकिताले फिल्ममा गरेको अभिनय कस्तो होला भन्ने कौतुहलता बढेको छ । केही फिल्ममेकर ‘साङ्लो’ मा उनको काम हेरेर फिल्म अफर गर्ने पखाईमा समेत छन् । तर, नेपाली फिल्ममा मिस नेपालले खासै राम्रो सफलता हात पार्न सकेका छैनन् । असफल मिस नेपालको भीडमा निकिता अपबाद बन्लिन् ? त्यसका लागि प्रतिक्षा गर्नैपर्ने हुन्छ । 
 
फिल्ममा विराज र निकिताका अलावा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ । श्री श्रेष्ठको द्वन्द्व र मानकृष्ण महर्जनको छायांकन रहेको फिल्म कथा शिवम अधिकारीले लेखेका हुन् । ‘एक्सन स्टार’ विराज भट्ट लामो समयपछि पर्दामा फर्किएका कारण ‘साङ्लो’ दर्शकमाझ प्रतिक्षीत छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)