Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘माया पिरिम’ मा कमेडी पञ्च राम्रो छ : कोशिश क्षेत्री

फिल्मीखबर, काठमाण्डौ, 2019/12/05
फिल्म ‘पर्व’ को ‘काले दाई’, ‘बुलबुल’ को ‘खुद्रा खाद्री मायालाई’ जस्तो चर्चित गीतका संगीतकार कोशिश क्षेत्री अहिले गीतमा संगीत भर्नसँगै फिल्ममा अभिनय गर्न पनि व्यस्त छन् । फिल्म ‘मोक्ष’ बाट अभिनय करिअर सुरुवात गरेका उनको पछिल्लो रिलिज फिल्म ‘रातो गलबन्दी’ हो । तर, दुर्भाग्य नै भन्नुपर्छ ! उनले संगीत भरेका गीत राम्रो चले पनि फिल्मले भने निर्माता डुबाएका छन् । 
 
यसबीच, उनको नयाँ फिल्म ‘माया पिरिम’ यही मंसिर २० गते (भोली) बाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो फिल्मबाट उनी निकै आशावादी छन् । फ्लप फिल्मको श्रृंखलामा पूर्णविराम लाग्ने विश्वास उनको छ । यो फिल्मको ‘फोटो खिचेर’ बोलको गीत अहिले चर्चामा छ । जसमा उनी आफैंले संगीत भरेका छन् । फिल्ममा उनको जोडी नव-अभिनेत्री किरण चन्दसँग बाँधिएको छ । 
 
 
उनी ‘माया पिरिम’ लाई मेनस्ट्रिम फिल्म भन्न रुचाउँछन् । ‘फिल्ममा कमेडी पञ्चहरु एकदमै राम्रो छ । स्क्रिप्ट पढ्दा म थुप्रै ठाउँमा हाँसेको थिएँ । फिल्ममा एक्सन र लभस्टोरी पनि छ । दर्शकलाई फिल्मले निराश बनाउँछ जस्तो मलाई लाग्दैन । तर, दर्शकले मलाई अघिल्ला फिल्मभन्दा फरक क्यारेक्टरमा चाहिँ पाउनुहुन्न’, उनले भने । उनी दर्शकलाई एकपटक फिल्म हेर्न आग्रह गर्छन् ।
 
‘माया पिरिम’ को कथावस्तु राम्रो लागेर काम गर्न राजी भएको उनको कथन छ । ‘निर्माता प्रविन (थापा) दाईले यो फिल्मभन्दा अगाडि पनि मलाई एउटा फिल्म अफर गर्नुभएको थियो । तर, त्यो फिल्मको कथामा मैले आफूलाई फिट नदेखेपछि हात उठाएको थिएँ,’ उनी अगाडि भन्छन्, ‘यो फिल्मको कथा चाहिँ मलाई साँच्चै मनपर्‍यो र टिम पनि राम्रो लागेपछि काम गर्न राजी भएँ ।’ 
 
टेक पौरखी राईको निर्देशनमा बनेको ‘माया पिरिम’ को कार्यकारी निर्मातामा सागर बस्नेत र कोषराज दाहाल रहेका छन् । त्यस्तै, प्रविन थापा र सविन अधिकारी निर्माता र मोहन मरासैनी र युवराज दाहाल फिल्मका सह-निर्माता हुन् । निरज कँडेलले खिचेको फिल्ममा कोशिश र किरणका अलावा विशाल पहारी, कालु राना, जयनन्द लामा, अर्जुन गुरुङलगायतको अभिनय छ । 
Most Visited News (monthly)