Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियरमा रुचाइयो ‘माछा माछा’ को कमेडी पाटो

फिल्मीखबर, काठमाण्डौ, 2019/12/05
‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले मिलेर निर्माण गरेको क्राइम-कमेडी फिल्म ‘माछा माछा’ लाई प्रिमियरमा सुखद प्रतिक्रिया मिलेको छ । बुधबार राजधानीको बिग मुभिजमा आयोजना गरिएको प्रिमियरमा नेपाली फिल्म क्षेत्रका चिर-परिचित अनुहारले फिल्मका कलाकारको अभिनयको प्रशंसा गर्दै कमेडी पाटो मन परेको प्रतिक्रिया दिएका छन् । 
 
 
फिल्म हेर्न प्रिमियरमा पुगेका ‘साइँली’ फेम्ड अभिनेता गौरव पहारीले कलाकारको अभिनय सबैभन्दा मन परेको बताए । ‘माछा माछा’ मा अतिथी भूमिकामा देखिएका उनले भने, ‘निर्देशक सुनिल गुरुङको निर्देशकिय क्षमता र लेखन पाटो राम्रो लाग्यो । त्यस्तै, हरेक कलाकारले उम्दा अभिनय गरेका छन् । सौगात (मल्ल) दाई फिल्मको मेरुदण्ड हुनुहुन्छ । उहाँको काम जबरजस्त छ ।’ 
 
कलाकार बुद्धि तामाङलाई भने फिल्मको कमेडी पाटो गजब लागेछ । ‘मलाई कलाकारको अभिनय र कमेडी पार्ट मनपर्‍यो । पात्र अनुरूपका ‘पञ्चलाइन’ निकै रसिला छन् । फिल्ममा सिचुएसन कमेडी छ । हेरुन्जेल फिल्मले मज्जाले मनोरञ्जन दिन्छ,’ उनले भने । अभिनेत्री मिरुना मगरले पनि फिल्म राम्रो बनेको बताउँदै कलाकारको अभिनय सबैभन्दा मन परेको बताइन् ।
 
‘माछा माछा’ को ‘म्याडम म्याडम’ बोलको गीतमा प्रेमी सौगात मल्लसँग ठुम्का लगाएकी अभिनेत्री सृष्टि श्रेष्ठले फिल्मको कमेडी पाटोमा आफू धेरै हाँसेको बताइन् । उनले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, ‘सबै कलाकारले उत्कृष्ट काम गर्नुभएको छ । फिल्म नयाँ कन्सेप्टमा बनेको छ ।’ प्रेमी सौगातको क्यारेक्टर आफूलाई नौलो र रमाइलो लागेको उनको भनाई छ । 
 
निर्देशक गुरुङले प्रिमियरमा फिल्मकर्मीबाट प्राप्त प्रतिक्रियाले खुसी महशुस भएको बताए । स्क्रिप्टलाई हुबहु पर्दामा उतार्न आफूले सम्पूर्ण प्रयास गरेको उनको भनाई छ । यो उनको डेब्यू निर्देशित फिल्म हो । यस फिल्मका निर्माता दयाहाङले आफूले सोचेको जस्तै फिल्म बनेकोमा खुसी व्यक्त गरे । निर्देशकले स्क्रिप्टलाई दुरुस्तै पर्दामा उतार्न सफल भएको उनको भनाई छ । 
 
 
उनले भने, ‘स्क्रिप्ट सुन्दा जे कल्पना गरेको थिएँ त्यो पर्दामा सर्लक्क देखिएको छ । दर्शकलाई फिल्मले भरपूर मनोरञ्जन दिनसक्छ भन्नेमा विश्वस्त छु । हामीले भिन्न फिल्म बनाउन खोजेका होइनौं । यसको कन्टेन्ट पुरानै हो । तर, त्यसलाई भन्ने निर्देशक गुरुङको शैली मलाई गजब लाग्यो ।’ निर्माता रामबाबु गुरुङले पनि स्क्रिप्ट पढ्दा अनुमान गरिएको दृश्य पर्दामा देखिएको बताए । 
 
तीन बेरोजगार युवाको कथामा बनेको फिल्म हो, ‘माछा माछा’ । फिल्मका केन्द्रिय पात्र हुन्, सौगात मल्ल, विजय बराल र अनोज पाण्डे । राजधानीमा कोठा भाडामा लिएर बस्ने यी तीन युवाले पैसा कमाउन गर्ने दौडधुपमा फिल्म घुमेको छ । ‘लुट’ फ्लेवरमा बनेको फिल्ममा सौगातको जोडी अभिनेत्री नम्रता श्रेष्ठसँग बाँधिएको छ । फिल्ममा सौगात र विजयको काम प्रशंसायोग्य छ ।
Most Visited News (monthly)