(1)(4).jpg)
अहिले अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले लगातार फिल्ममा काम गरिरहेका छन् । २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु फिल्ममा छुटिएर काम गर्न सकेका छैनन् । अभिनेता सौगातले आफूले गर्ने फिल्ममा सृष्टिलाई अभिनेत्रीमा सिफारिस गर्ने गरेको चर्चा छ । तर, यो कुरा उनी अस्वीकार गर्छन् । मेकरले नै आफूलाई एकसाथ फिल्म अफर गर्ने उनको भनाई छ ।
सौगात र सृष्टिको पछिल्लो रिलिज फिल्म ‘पोइ पर्यो काले’ हो । योभन्दा अगाडि दुईले फिल्म ‘मासु भात’ मा काम गरेका थिए । यो फिल्म भने प्रदर्शनमा आएको छैन । यही मंसिर २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माछा माछा’ को गीतमा पनि उनीहरु एकसाथ देखिएका छन् । चाँडै यो जोडीले मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘सँगसँगै’ मा काम गर्दैछ ।
यसबीच, सौगात र सृष्टिको जोडीलाई फेरि एक फिल्ममा एकसाथ देख्न पाइने भएको छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रोज’ बनाएको गोपीकृष्ण मुभिजले निर्माण गर्न लागेको फिल्म ‘माइकल अधिकारी’ मा उनीहरु अनुबन्ध भएका छन् । केही दिनमा फिल्मको औपचारिक निर्माण घोषणा गरिने बताइएको छ । फिल्मलाई एक भारतीय निर्देशकले निर्देशन गर्ने जानकारी प्राप्त छ ।
गोप्य स्रोतका अनुसार, सौगातले अभिनेत्रीमा सृष्टि भएको खण्डमा मात्र फिल्म गर्ने सर्त राखेका थिए । गोपीकृष्ण मुभिज भने नयाँ अभिनेत्री लिने तयारीमा थियो । तर, सौगात आफ्नो सर्तमा अडिग रहेपछि निर्माण टिमले बाध्य भएर फिल्ममा सृष्टिलाई अनुबन्ध गरेको स्रोत बताउँछ । यद्यपि, फिल्ममा सौगात र सृष्टि अनुबन्ध भएको विषयमा निर्माण टिमले कुनै जानकारी दिएको छैन ।

