Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झिँगेदाउ’ : आँचलको पिठ्युमा डोको र सिउँदोमा सिन्दुर

फिल्मीखबर, काठमाण्डौ, 2019/12/01
‘नाईं नभन्नू ल ४’ बाट फिल्मी करिअर सुरु गरेकी अभिनेत्री आँचल शर्माले अहिलेसम्म दर्शकलाई चक्मा दिने खालको भूमिका निभाएकी छैनन् । पछिल्लो रिलिज फिल्म ‘दाल भात तरकारी’ सम्म आइपुग्दा अभिनयमा पनि निखारता ल्याउन नसकेकी उनी प्रायः शहरिया युवतीको भूमिकामा देखिँदै आएकी छन् । तर, फिल्म ‘झिँगेदाउ’ मा भने उनी विल्कुलै फरक भूमिकामा छिन् । 
 
यसमा उनले गाउँले भूमिका निभाएकी छन् । आइतबार निर्माण टिमले अभिनेत्री आँचलको लुक्स सार्वजनिक गरेको छ । जसमा उनलाई निकै फरक गेटअपमा देख्न सकिन्छ । सिउँदोमा सिन्दुर, घाँटीमा हरियो पोते, सातो रंगको साडी र गुन्यू चोलीमा देखिएकी उनले कम्मरमा पटुकी बाँधेकी छन् । त्यस्तै, हातमा हँसिया र गाईवस्तुका लागि पिठ्युमा घाँसले भरिएको डोको बोकेकी छन् । 
 
 
उनको यो गेटअपले दर्शकमा फिल्मप्रति कौतुहलता जागृत गर्ने देखिन्छ । फिल्ममा उनले विवाहित महिलाको भूमिका निभाएकी छन्, जो विकट गाउँमा बस्छिन् । पहिलो पटक फरक भूमिका निर्वाहा गर्न पाएकी उनी आफ्नो भूमिकालाई दर्शकले मन पराउनेमा विश्वस्त छिन् । फिल्ममा उनको जोडी ‘बुलबुल’ मा ‘चोपेन्द्र’ को भूमिका निभाएका मुकुन्द भुषालसँग बाँधिएको छ । 
 
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनिरहेको ‘झिँगेदाउ’ को अहिले भकुन्डेवेसीमा छायांकन भैरहेको छ । त्यहाँ इनडोर छायांकनका लागि सेट निर्माण गरिएको छ । खोटाङको हलेसीमा छायांकन सकेर निर्माण टिम भकुन्डेवेसी झरेको हो । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर ‘झिँगेदाउ’ बन्न लागेको हो । फिल्मका निर्माता निर्देशक देउजा स्वयं हुन् । 
 
कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण भैरहेको फिल्मको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । भने, पटकथा एवं संवाद प्रदीप भारद्धाजले तयार पारेका हुन् । फिल्मलाई विष्णु कल्पितले खिचिरहेका छन् । निर्देशक देउजाले यसअघि ‘मुना मदन’, ‘रक्षक’, ‘करुक्षेत्र’, ‘देवर बाबु’, ‘हामी ट्याक्सी ड्राइभर’ लगायतका फिल्मको निर्देशन गरिसकेका छन् । 
Most Visited News (monthly)