Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ब्रिटिश काउन्सिल र चलचित्र विकास बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर

फिल्मीखबर, काठमाण्डौ, 2019/11/29
ब्रिटिश काउन्सिलले आफ्नो युवा तथा र्सिजनशिल संलग्नता कार्यक्रम अन्तर्गत चलचित्र विकास बोर्डसँग तीन वर्षका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ । शुक्रबार चलचित्र विकास बोर्डको सभा हलमा भएको एक कार्यक्रमका बीच बोर्ड अध्यक्ष केशव भट्टराई र ब्रिटिश काउन्सिलका नेपाल निर्देशक ब्रेण्डन म्याकसेरीले समझदारी पत्रमा हस्ताक्षर गरे । 
 
 
यस समझदारीले वर्तमान र भावी क्षेत्रगत विकासका कार्यहरुलाई सँग-सँगै अगाडि बढाउने बोर्ड अध्यक्ष भट्टराईले बताए । यस दीर्घकालिन रणनीतिक समझदारीमार्फत् तीन वर्षसम्म विभिन्न परियोजनाहरुमा कार्य गर्ने र चलचित्र विकास बोडलाई विशेषज्ञ तथा प्राविधिक परामर्शको माध्यमबाट सहकार्य गरि सकारात्मक प्रतिफल हासिल गर्ने अपेक्षा ब्रिटिश काउन्सिलले लिएको छ ।
 
चलचित्र विकास बोर्ड र ब्रिटिश काउन्सिलबीच तालिम विषयवस्तुको डिजाइन तथा विकास, परियोजनाहरुको डिजाइन तथा प्रवाह, पारस्परिक लाभजन्य प्रतिफलहरुको अनुभूति गर्न बेलायत तथा नेपाली विज्ञबीच सहजीकरण तथा समन्वय, पाठ्यक्रम तथा शैक्षिक कार्यक्रममा सहयोग र दर्शक बढाउने सामाग्रीको विकासमा सहकार्य हुने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 
 
 
यो समझदारीको मुख्य जोड चलचित्र विकास बोर्डबाट हुने एतिहासिक फिल्मको संग्रहमा हुने बताइएको छ । विज्ञप्तीमा प्रत्येक पक्षले आफ्नो छुट्टै परियोजना व्यवस्थापन गर्न पनि सक्ने उल्लेख छ । समझदारी पत्र हस्ताक्षर कार्यक्रमका प्रमुख अतिथी सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले यो नेपाली चलचित्र क्षेत्रका लागि नयाँ ढोका खुलेको भन्दै प्रशंसा गरे ।
 
त्यस्तै, उक्त कार्यक्रममा फिल्म छायांकनका लागि लक्षित गर्दै लोकेशन गाइड पुस्तक ‘फिल्मिङ इन नेपाल’ पनि विमोचन गरिएको छ । यस पुस्तकका प्रकाशन संयोजक दयाराम दाहालले लोकेशन गाइड पुस्तक सरकारको नीति तथा कार्यक्रमभित्रको विषय रहेको बताए । उनले भने, ‘यो पूर्ण किताब होइन । एउटा किताबमा नेपाल सकिँदैन । हजारौं पुस्तकमा पनि अट्दैन ।’
 
 
उनले यो पुस्तकको अन्य संस्करण पनि आउने बताए । उनका अनुसार, पुस्तकमा फिल्म छायांकनका लागि कुल ६१ वटा लोकेशन समेटिएको छ । तीनसय बढी फोटो समावेश गरिएको पुस्तकमा नेपालमा छायांकन भएका विदेशी फिल्म र लोकेशन पनि समेटिएको छ । यो पुस्तकले नेपाली र विदेशी फिल्मको छायांकनका लागि लोकेशन खोज्न सघाउने विकास बोर्डको विश्वास छ ।
Most Visited News (monthly)