नेपाली फिल्मकी ‘कान्छी’ नम्रता श्रेष्ठले फिल्म ‘गाँठो’ बाट अभिनय करिअर सुरु गरेकी थिइन् । यसमा उनको अपोजिटमा अभिनेता नाजिर हुसेन थिए । डेब्यू फिल्ममा नै सोलो अभिनेत्रीको रुपमा काम गर्न पाउँदा उनी दंग थिइन् । फिल्म हिट भए आफू दर्शकमाझ ‘नोटिस’ हुने उनको विश्वास थियो । तर, फिल्मले हलमा सिन्को भाँचेन । न त उनको अभिनय कलाकै प्रशंसा भयो ।
उनी अभिनीत दोस्रो फिल्म हो- ‘जानी नजानी’ । यसमा उनी सहायक भूमिकामा थिइन् । तर, यो फिल्म पनि बक्सअफिमा नमज्जासँग डुब्यो । अब, उनको तेस्रो फिल्म ‘माछा माछा’ यही मंसिर २० गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यसमा उनको जोडी अभिनेता सौगात मल्लसँग बाँधिएको छ । दुई फिल्मबाट असफलता भोगेकी उनी यो फिल्मबाट निकै आशावादी छिन् ।

तर, उनको नामलाई लिएर दर्शक र फिल्मकर्मी निकै झुक्किने गर्दछन् । ‘नोभेम्बर रेन’ फेम्ड अभिनेत्री नम्रता श्रेष्ठसँग नाम मिल्ने भएका कारण उनले आफूलाई ‘कान्छी’ नम्रता श्रेष्ठको रुपमा चिनाउने गरेकी छन् । तर, अझै पनि धेरैले उनलाई ‘ठूली’ नम्रता नै सोच्छन् । आफूलाई चिनाउँदा चिनाउँदै दिकदार भैसकेकी नम्रता ‘माछा माछा’ ले आफ्नो पहिचान दिलाउनेमा आशावादी छिन् ।
मंगलबार राजधानीमा पत्रकारसँग कुराकानी गर्दै उनले भनिन्, ‘मैले अभिनय गरेका फिल्म दर्शकको ठूलो वर्गसम्म पुग्न सकेको छैन । त्यसैले मेरो नाम सुनेपछि सबैले नम्रता श्रेष्ठ (ठूली) नै ठान्नुहुन्छ । ‘माछा माछा’ सफल भएको खण्डमा ‘म अर्कै नम्रता हुँ’ भनेर चिनिन सक्छु भन्ने विश्वास छ ।’ तर, उनी ‘ठूली’ नम्रता श्रेष्ठ आफ्नो पहिचानमा बाधक बनेको स्वीकार गर्ने पक्षमा छैनन् ।
‘गाँठो’ र ‘जानी नजानी’ फ्लप भएपछि धेरैले उनलाई ‘अनलक्की’ नायिका भन्ने गरेका छन् । के उनी ‘अनलक्की’ नायिका नै हुन् त ? पत्रकारको प्रश्नको जवाफमा उनले भनिन्, ‘फिल्मको हकमा म आफूलाई ‘अनलक्की’ नायिका नै मान्छु । किनकि, म अभिनीत फिल्म चल्न सकेका छैनन् । यसो भन्दैमा मैले मेहेनत गर्न छाडेको चाहिँ छैन । ‘माछा माछा’ ले ‘लक्की’ बनाउला कि !’

