
‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्काको निर्देशनमा बनिरहेको फिल्म ‘चपली हाइट ३’ को प्रदर्शन मिति घोषणा गरिएको छ । स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहने यो फिल्म आउँदो चैत २८ गते प्रदर्शन हुने निधो भएको छ । यसको जानकारी फिल्मका निर्माता अर्जुन कुमारले दिएका हुन् ।
अब, यो फिल्मको बक्सअफिसमा फिल्म ‘प्रेमगीत ३’ सँग भिडन्त हुनेछ । गएको ६ महिना अगाडि नै यो फिल्मले चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । निर्माता अर्जुन कुमारले एक भिडियो सन्देशमार्फत् भनेका छन्, ‘समयमा नै फिल्म भ्याउन सक्दैनौं कि भन्ने डरले यसअघि नै रिलिज डेट घोषणा गरेका थिएनौं । अब फिल्म चैत २८ मा आउनेछ ।’
निर्देशक खड्काले फिल्म रिलिजका लागि चैत २८ उपयुक्त मिति भएको बताएका छन् । गएको पाँच दिनदेखि फिल्मको धमाधम छायांकन भैरहेको छ । निर्माता अर्जुन अघिल्ला दुई सिरिजभन्दा ‘चपली हाइट ३’ फरक कथामा बन्न लागेको बताउँछन् । तर, फिल्ममा दर्शकले सस्पेन्स र थ्रिल पाउने उनको दाबी छ । फिल्मको एक महिनाको सुटिङ सेड्युल राखिएको छ ।
नाम नै ब्रान्ड बनिसकेको यस फिल्ममा स्वस्तिमा-महेश र सुपुष्पा-प्रतिकको जोडी बाँधिएको छ । ‘चपली हाइट ३’ लाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गर्न लागेको हो । निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि ‘फाटेको जुत्ता’ मा सहकार्य भएको थियो । ‘चपली हाइट ३’ पछि निर्माता अर्जुनले ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक फिल्म बनाउँदैछन् ।

