‘काले दाई’ गीतका संगीतकार कोशिश क्षेत्री आजभोली फिल्ममा अभिनय गर्न व्यस्त छन् । फिल्म ‘मोक्ष’ बाट अभिनय करिअर सुरु गरेका उनले ‘पर्व’ र ‘रातो गलबन्दी’ गरि तीन फिल्ममा काम गरिसकेका छन् । ‘मोक्ष’ बाट उनले तीनवटा उत्कृष्ट अभिनेताको अवार्ड पनि जितेका थिए । तर, फिल्मले भने निर्मातालाई नमज्जासँग डुबायो । ‘पर्व’ र ‘रातो गलबन्दी’ पनि चलेका फिल्म होइनन् ।
उनको चौथो फिल्म ‘माया पिरिम’ यही मंसिर २० गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । टेक पौरखी राईको निर्देशनमा बनेको फिल्ममा उनको जोडी किरण चन्दसँग बाँधिएको छ । यो फिल्मलाई लिएर उनी निकै आशावादी छन् । फ्लप फिल्मको श्रृंखलामा यसले पूर्णविराम लगाउने उनको विश्वास छ । तर, यस फिल्ममा आफूले क्यारेक्टरमा धेरै वर्कआउट नगरेको बताउँछन् ।
शुक्रबार ट्रेलर रिलिज कार्यक्रममा उनले भने- ‘म क्यारेक्टर आर्टिस्टको रुपमा काम गर्न रुचाउने मान्छे हुँ । ‘मोक्ष’, ‘पर्व’ र ‘रातो गलबन्दी’ मा मैले क्यारेक्टर आर्टिस्टको रुपमा काम गरेँ । यसमा चाहिँ त्यो अपेक्षा नराख्नुहोला । ‘मेनस्ट्रीम’ जनरा भएकाले मैले आफूलाई सहज रुपमा लगेको छु । क्यारेक्टरमा खासै वर्कआउट गरेको छैन । अर्थात् मैले यसमा छुट्टै चरित्र निभाएको छैन ।’
लगातार तीन फिल्म असफल भएपछि अभिनेता कोशिशलाई संगीत पेशा नै फापेको टिका-टिप्पणी हुने गरेको छ । अभिनयमा लागेर उनले संगीतमा विविधता दिन नसकेको पनि कतिपयको आरोप छ । तर, यो मान्न तयार छैनन् उनी । फिल्म मेकिङमा लागेर संगीत सिर्जनामा कुनै असर नपुगेको उनको तर्क छ । उनी आफू अभिनय र संगीत दुबै विधामा सक्रिय रहने बताउँछन् ।
उनको विचारमा अभिनय र संगीत भनेका एउटै रुखका हाँगाहरु हुन् । अभिनेता कोशिश हँसिलो मुहारमा भन्छन्, ‘अभिनय, संगीत र गायन भनेका एउटै रुखका हाँगाहरु हुन् जस्तो मलाई लाग्छ । मात्र कुनै हाँगा लामा र कुनै छोटा हुन्छन् । तर, जरा एउटै हुन्छ । पानी त्यही जराले प्रत्येक हाँगासम्म पुर्याउने हो ।’ उनी आफू संगीतमाझैँ अभिनयमा पनि उत्तिकै रमाउने बताउँछन् ।
कोशिश आफू अभिनीत फिल्म बक्सअफिसमा असफल भए पनि आफ्नो अभिनय रुचाइएकोमा खुसी छन् । ‘हो, ‘मोक्ष’ असफल भयो । तर, मलाई त्यही फिल्मले तीनवटा अवार्ड दिलायो । त्यसपछि ‘पर्व’ आयो । यो जनराको फिल्म नेपालमा अलि चाँडो बनेको प्रतिक्रिया प्राप्त भए पनि क्रिटिक्सले तारिफ गर्नुभएको थियो’, उनी आफूले गरेको फिल्मबाट पछुतो नभएको सुनाउँछन् ।

