
‘उरी : द सर्जिकल स्ट्राइक’ बाट नसोचेको सफलता हात पारेका अभिनेता विक्की कौशल अहिले आफ्ना केही नयाँ फिल्ममा व्यस्त छन् । यसमध्ये एक सुपरहिरो फिल्ममा आधारित छ, जसमा उनी अघिल्ला फिल्मभन्दा विल्कुलै फरक अवतारमा देखिँदैछन् । यो फिल्मलाई ‘उरी’ का निर्देशक आदित्य धरले निर्देशन गर्दैछन् । यो सुपरहिरो फिल्ममा विक्की अश्वत्थामाको लुक्समा देखिनेछन् ।
एक रिपोर्टका अनुसार, निर्देशक आदित्यले फिल्मको प्रोडक्सनको धेरथोर तयारी दुई महिना अगाडि नै सुरु गरेका थिए । यो फिल्मको पूरै छायांकन स्टार्ट-टू-फिनिश सेड्युलमा हुने बताइएको छ । यसका लागि ग्रीनल्यान्ड, टोकियो, न्यूजील्यान्ड लोकेशन फाइनल गरिएको छ । तर, यो फिल्मको कास्ट र प्लटको बारेमा अहिलेसम्म निर्माण टिमले विस्तारमा जानकारी दिएको छैन ।
अभिनेता विक्की कौशलको चरित्रलाई लिएर निर्देशक आदित्यले भनेका छन्, ‘अश्वत्थामा महाभारतको एक शक्तिशाली र रहस्यमयी चरित्रमध्ये एक हो । द्रोणाचार्यको छोरा भएका कारण उनी एक सानदार योद्धा थिए । साथै, उनमा अहंकार र अभिमान पनि थियो ।’ निर्देशक आदित्यले अर्जुन र करणको जस्तो अश्वत्थामाको बारेमा महाभारतमा धेरै उल्लेख नगरिएको बताउँछन् ।
उनी भन्छन्, ‘विक्की अश्वत्थामाको चरित्रका लागि परफेक्ट होइनन्, तर कोही पनि परफेक्ट हुँदैनन् । त्यसैले उनले अश्वत्थामाको क्यारेक्टर रोजेका छन् ।’ आदित्यका अनुसार, फिल्ममा एक्सन सिन, पोस्ट-प्रोडक्शन र भिएफएक्सका लागि दुनियाँभरका एक्सन मास्टर्सलाई लिएर काम गरिँदैछ । हिन्दी, अंग्रेजी, मन्दारिन, तमिल र तेलुगू भाषामा बन्ने फिल्म २०२० मा रिलिज हुनेछ ।

