.jpg)
यस वर्ष अभिनेत्री वर्षा राउत अभिनीत दुई फिल्मले सफलता हात पारे । मह सञ्चारको फिल्म ‘दाल भात तरकारी’ र प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ दुबै हिट साबित भए । तर, उनलाई ‘दाल भात तरकारी’ ले राम्रो व्यापार गर्दा पनि खुसी दिएन । अभिनय र चरित्र बलियो नहुँदा उनको आलोचना भएको थियो । ‘जात्रै जात्रा’ बाट भने उनले अभिनयको तारिफ बटुलिन् ।
फिल्ममा उनले अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिका निभाएकी थिइन् । फिल्ममा उनको अभिनयले दर्शकलाई भावुक बनाएको थियो । सोलो नायिका भएका कारण उनले यो फिल्मको सफलताको ‘क्रेडिट’ पाइन् । ‘जात्रै जात्रा’ को अघिल्लो सिरिजले पनि उनलाई सफलताको नयाँ उचाइ दिलाएको थियो । सिक्वेलले उनको डगमगाएको करिअरलाई ट्रयाकमा ल्याउन सघायो ।
‘गोपी’ र ‘चौका दाउ’ को असफलताले हच्किएकी थिइन्, वर्षा । त्यो पीडा ‘जात्रै जात्रा’ को सफलताले विर्सायो । अब, उनी हतारमा फिल्म छनोट गर्ने पक्षमा छैनन् । राम्रो फिल्मबाट अफर नआएसम्म उनले भिडियो मात्र काम गर्ने निर्णय लिएकी छन् । आजभोली म्यूजिक भिडियोमा व्यस्त रहेकी उनले फिल्मको स्क्रिप्ट पढिरहे पनि कुनैले काम गर्नका लागि प्रेरित गर्न सकेका छैनन् ।
‘जात्रै जात्रा’ रिलिजको ५ महिना वितिसकेका कारण अब वर्षालाई नयाँ फिल्म गर्नुपर्ने नैतिक दबाब सिर्जना हुन थालेको छ । तर, राम्रो स्क्रिप्ट हातमा नपर्दा उनी अन्योलमा छन् । अब, फ्लप फिल्मको भार थेग्न नसक्ने बताउने वर्षा फेरि हिट फिल्मको ‘ग्यारेन्टी’ गर्ने मेकरको खोजीमा छन् । फिल्म फ्लप हुँदा करिअर डुब्ने चिन्ता । हिट हुँदा नयाँ फिल्म छान्न सकस । वर्षालाई तनाब छ !

