लभर ब्वाइको छवि बनाएका अभिनेता आर्यन सिग्देल अहिले आफ्नो पुरानो स्टारडम फर्काउन लागिपरेका छन् । एकपछि अर्को फिल्मले बक्सअफिसमा घुँडा टेक्दा उनको करिअर सुस्ताएको छ । त्यसैले, फेरि उनी नेपाली फिल्ममा आफ्नो बलियो उपस्थिति जनाउन खोज्दैछन् । तर, उनलाई आफ्नो पुरानो साख फर्काउन फलामको चिउरा चपाउनुभन्दा कम गाह्रो भएको छैन ।
एक समय ‘नम्बर वान’ नायकको पगरी गुथेका उनलाई पछिल्लो रिलिज फिल्म ‘हजार जुनीसम्म’ बाट निकै ठूलो आश थियो । उनलाई विश्वास थियो कि ‘नाईं नभन्नू ल’ सिरिजका निर्देशक विकासराज आचार्यको एक्सन-कट रहेका कारण फिल्मले बक्सअफिसमा पैसाको वर्षात गर्नेछ । तर, फिल्मले प्रदर्शनको सुरुवाती दिनदेखि नै हलमा दर्शकको चर्को अभाव खेप्नु पर्यो ।
उनले आफ्नो पुरानो स्टारडम फर्काउन आफ्नै लगानीमा फिल्म ‘कायरा’ पनि बनाएका थिए, अहिलेकी चल्तीकी अभिनेत्री अभिनेत्री साम्राज्ञी आरएल शाहलाई १० लाख पारिश्रमिक दिएर । तर, फिल्मले बक्सअफिसमा घाटाको व्यापार गर्दा उनको फेरि नेपाली फिल्ममा राज गर्ने सपना गर्भमै तुहियो । शुक्रबारबाट उनको नयाँ फिल्म ‘च च हुई’ देशैभर प्रदर्शनमा आएको छ ।
(2).jpg)
साम्तेन भुटिया निर्देशित फिल्ममा आर्यन केन्द्रिय भूमिकामा छन् । उनको अपोजिटमा अभिनेत्री मिरुना मगरले अभिनय गरेकी छन् । भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको पनि अभिनय रहेको फिल्मका निर्माता अमृत घोले हुन् । जीवनको पिङमा मच्चिन खोज्दा आउने परिस्थितिलाई फिल्ममा देखाइएको छ ।
रोमान्टिक र कमेडी दुबै अवतारमा देखिएका आर्यनका लागि यो फिल्म चल्नैपर्ने दबाब छ । यसले फ्लप फिल्मको श्रृंखलामा पूर्णविराम लगाउन सफल भएको खण्डमा फेरि नेपाली फिल्ममा उनको रजगज चल्नेछ । त्यसैले कतिपयले ‘च च हुई’ लाई उनको अग्नीपरिक्षाको रुपमा लिएका छन् । यो फिल्मको व्यापारिक नतिजाले उनको करिअरलाई कुन दिशा दिने भन्ने निर्णय गर्नेछ ।
मल्टीप्लेक्समा ‘च च हुई’ ले उत्साहजनक सोज पाउन सकेको छैन । बलिउड फिल्म ‘पगलपन्थी’ का कारण फिल्मलाई मल्टीप्लेक्सले औसत सोज बाँडेका छन् । अब, उक्त फिल्मलाई ‘वर्ड अफ माउथ’ बलियो हुन आवश्यक छ । दर्शकको चाप भएको खण्डमा मल्टीप्लेक्सले आइतबारबाट फिल्मको सोजमा वृद्धि गर्नेछन् । फिल्मले सिंगल पर्दा भने पर्याप्य पाएको बताइएको छ ।

