गएको असोज अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ पछि कुनै फिल्मले हलमा दर्शक तान्न सकेका छैनन् । आशा गरिएका फिल्मले समेत बक्सअफिसमा घुँडा टेकेका छन् । यो अवस्थामा भोली शुक्रबारबाट एक समयका ‘नम्बर वान’ अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरले रोमान्स गरेको फिल्म ‘च च हुई’ प्रदर्शनमा आउँदैछ । फिल्मका निर्देशक साम्तेन भुटिया हुन् ।
हङकङबाट नेपाल फर्किएका दुई युवकको जीवनमा एउटा किताबले ल्याउने उतारचढावमा केन्द्रित छ । शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मको बुधबार दिउँसोबाट मल्टीप्लेक्सहरुले एडभान्स बुकिङ खुलाएका छन् । तर, फिल्मले अपेक्षाभन्दा कम सोज पाएको छ । बलिउड फिल्म ‘पागलपन्थी’ का कारण ‘च च हुई’ मल्टीप्लेक्समा न्यून सोजमा खुम्चनु परेको छ ।
 (4)(1).jpg)
नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभरका ८ स्टेशनमा ‘पागलपन्थी’ लाई २६ सोज बाँड्दा ‘च च हुई’ ले १३ सोजमा उपस्थिति जनाएको छ । त्यस्तै, बिग मुभिज, विएसआर मुभिज र एफक्यूबमा फिल्मले समान्तर २/२ सोज पाउँदा क्यूज सिनेमाज् र वान सिनेमाज्ले समान्तार १/१ सोज बाँडेका छन् । भने, सिडिसी सिनेमाज्मा फिल्मलाई ३ सोज मिलेको छ ।
‘च च हुई’ यस वर्षको आशा गरिएको फिल्ममध्ये एक हो । तर, मल्टीप्लेक्सहरुले कम सोज बाँड्दा फिल्मलाई बम्पर ओपनिङ गर्ने मौका गुमेको छ । फिल्मले सिंगल पर्दा भने पर्याप्त पाएको निर्माण टिमले बताएको छ । भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय रहेको फिल्मका सम्पादक भुटिया स्वयं हुन् भने निर्माता अमृत घोले हुन् ।
जीवनको पिङमा मच्चिन खोज्दा आउने परिस्थितिलाई फिल्ममा देखाइएको छ । यो फिल्म एजीएल इन्टरटेनमेन्टको ब्यानरमा बनेको हो । सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा सिजन दाहाल र सन्देश अर्याल पटकथा छ । फिल्मका गीतमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ । ‘च च हुई’ मा श्री श्रेष्ठको द्वन्द र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

