Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शाहरुखसँग हिरानीको टिमअप चर्चा

एजेन्सी, मुम्बई, 2019/11/21
राजकुमार हिरानीलाई बक्सअफिसको ‘बादशाह’ भन्ने गरिन्छ । उनका हरेक फिल्मले बक्सअफिसमा सफलताको झण्डा गाडेका छन् भने कयौं रेकर्ड तोडेका छन् । उनी निर्देशित पछिल्लो रिलिज फिल्म ‘सञ्जु’ हो । केही दिनयता शाहरुख र हिरानीबीच नयाँ फिल्ममा सहकार्यको प्रयास भैरहेको चर्चा छ । तर, यस विषयमा शाहरुख र हिरानीले कुनै जानकारी दिएका छैनन् । 
 
वर्ष २००३ मा राजकुमार हिरानीले आफ्नो करिअर सुरुवात गरेका थिए । अहिलेसम्म उनले ५ फिल्म बनाइसकेका छन् । उनको पहिलो फिल्म ‘मुन्ना भाई एमबीबीएस’ ले अभिनेता सञ्जय दत्तको करिअरलाई नयाँ उचाई दिएको थियो । यसपछि यो फिल्मको सिक्वेलले सञ्जयको इमेल मुन्नाभाईको रुपमा स्थापित गर्‍यो । सञ्जयपछि हिरानीले अभिनेता आमिर खानसँग पनि दुई फिल्म गरे । 
 
 
हिरानीले आमिरलाई लिड रोलमा लिएर बनाएको फिल्म ‘थ्री इडियट्स’ पहिलो यस्तो फिल्म थियो, जसले बक्सअफिसमा २ सय करोडको आँकडा पार गरेको थियो । यसपछि दुईको सहकार्य फिल्म ‘पीके’ मा भयो । यो बक्सअफिसमा ३ सय करोडको आँकडा पार गर्ने पहिलो फिल्म हो । ‘पीके’ पछि हिरानीले अभिनेता सञ्जय दत्तको बायोपिक बनाउने फैसला लिए । 
 
‘सञ्जु’  मा अभिनेता रणवीर कपूरले अभिनेता सञ्जय दत्तको भूमिका निभाएका थिए । त्यसबेला रणवीर एक जबरजस्त हिट फिल्मको खोजीमा थिए । र, ‘सञ्जु’ ले ३ सय करोडभन्दा बढी व्यापार गरेर रणवीरको सुपरस्टारडम कायम गर्‍यो । अभिनेता शाहरुख पनि अहिले आफ्नो डुब्न लागेको करिअर बचाउन संघर्ष गरिरहेका छन् । उनका पछिल्ला सबै फिल्म फ्लप छन् । 
 
इम्तियाज अली, आनन्द एल राय जस्ता निर्देशकसँग काम गरेर पनि असफलता भोगेका शाहरुखले ‘जीरो’ पछि कुनै फिल्म साइन गरेका छैनन् । उनी अब फिल्म छनोटमा हत्तार गर्ने पक्षमा छैनन् । हिरानीसँग उनको थुप्रै पटक फिल्मको विषयमा छलफल भएको भारतीय मिडियाले बताएका छन् । निर्देशक हिरानीसँग सहकार्य भएको खण्डमा शाहरुखलाई हिटको सुख प्राप्त हुन सक्नेछ । 
Most Visited News (monthly)