Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(131 votes, avg 3.46/5.00)
Text size:-
+
-

‘मन परेसी पर्‍यो पर्‍यो’ मा पूजा र आकाशको जोडी, ‘प्रेमगीत ३’ सँग भिडन्त

फिल्मीखबर, काठमाडौं, 2019/11/20
अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मालाई लिएर फिल्म बनाउन मेकरबीच हानाथाप भैरहेको छ । पहिलो पटक यी दुईले फिल्म ‘रामकहानी’ मा सहकार्य गरेका थिए । यो फिल्म बक्सअफिसमा असफल भए पनि उनीहरुको जोडीलाई दर्शकले निकै रुचाए । यसपछि यी दुईको सहकार्य फिल्म ‘सम्हालिन्छ कहिले मन’ मा भयो । यो फिल्म प्रदर्शनमा आउन बाँकी छ ।  
 
गएको कात्तिकमा आकाश र पूजा अभिनीत तेस्रो फिल्म ‘पोइ पर्‍यो काले’ प्रदर्शनमा आएको थियो । यो फिल्म रिलिज लगत्तै दुईले फिल्म ‘सम्झना-विर्सना’ साइन गरे । उक्त फिल्मको चाँडै छायांकन सुरु हुँदैछ । यसबीच, यो जोडी पुनः एक नयाँ फिल्ममा दोहोरिने भएको छ । रघु परियारले निर्माण गर्न लागेको फिल्म ‘मन परेसी पर्‍यो पर्‍यो’ मा उनीहरु बुधबार अनुबन्ध भएका हुन् । 
 
 
‘जय शम्भु’ फेम्ड निर्देशक रुपेश थिङ तामाङले निर्देशन गर्ने फिल्ममा पूजा र आकाशसँगै बुद्धि तामाङ, किरण श्रेष्ठ, कालु रानाको अभिनय रहनेछ । फोर्थ आइज् मुभीज प्रालि र डिविआर मिडियाको ब्यानरमा बन्ने फिल्मको छायांकन पुषको अन्तिम साताबाट हुने निर्देशक तामाङले जानकारी दिए । फ्लोरमा नजाँदै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ । 
 
अभिनेत्री पूजाले आफूलाई ‘स्टार’ बनाएको फिल्म ‘प्रेमगीत’ को तेस्रो सिरिजसँग बक्सअफिसमा भिडन्त गर्ने भएकी छन् । आउँदो चैत २८ गतेलाई ‘मन परेसी पर्‍यो पर्‍यो’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यो मितिमा यसअघि नै यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ आउने निधो भैसकेको छ । दोस्रो पटक अभिनेता प्रदीप खड्कासँग पूजाको भिडन्त हुन लागेको हो । 
 
चितवन र कालिञ्चोकमा छायांकन हुने ‘मन परेसी पर्‍यो पर्‍यो’ मा अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने र श्रीकृष्ण बर्देवाको संगीत रहनेछ । फिल्मको गीतमा रविन शाहले कोरियोग्राफी गर्नेछन् । निर्देशक तामाङले फिल्म प्रेमकथामा आधारित भएर बन्न लागेको बताए । पाँचौ पटक सहकार्य गर्न लागेका अभिनेता आकाश र अभिनेत्री पूजा फिल्मलाई लिएर उत्साहित रहेको बताउँछन् । 
Most Visited News (monthly)