चकलेटी अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरले पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘च च हुई’ यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । कमेडी-रोमान्टिक जनरामा निर्माण भएको फिल्म हङकङबाट नेपाल फर्किएका दुई युवकको जीवनमा एउटा किताबले ल्याउने उतारचढावमा केन्द्रित छ । फिल्मका निर्देशक साम्तेन भुटिया हुन् ।
फिल्ममा आर्यन ‘प्रेम’ र मिरुना ‘संगीता’ को भूमिकामा छन् । भने, आर्यनको साथीको भूमिकामा भोलाराज सापकोटा छन् । फिल्ममा पनि उनको नाम भोला नै छ । त्यस्तै, कलाकार माओत्से गुरुङ ‘श्यामलाल’ को भूमिकामा छन् । ‘त्यान्द्रो’, ‘साढे सात’ लगायतका फिल्मको निर्देशन गरिसकेका निर्देशक भुटिया यसपटक आफूले पूर्ण कमर्शियल फिल्म बनाउन खोजेको बताउँछन् ।
उनी भन्छन्, ‘मैले पहिलो पटक कमेडी जनराको फिल्म बनाएको हुँ । फिल्मले दर्शकलाई बाँध्छ भन्नेमा विश्वस्त छु । मैले फरक फिल्म गर्ने भन्दा पनि फरक कन्टेन्टलाई रोजेको हुँ ।’ उनले आफूलाई नयाँ धारको आर्ट फिल्म बनाउने निर्देशकको रुपमा स्थापित गरेका छन् । तर, उनी आफुलाई आर्टमा भन्दा पनि हरेक जनरामा प्रस्तुत गर्न चाहने बताउँछन् ।
.jpg)
अभिनेता आर्यन सिग्देललाई भने निर्देशक भुटियासँग काम गर्न पहिल्यैदेखि मन रहेछ । एक भेटमा उनले भने, ‘मलाई उहाँ (छेवैमा रहेका निर्देशक साम्तेन भुटिया) सँग काम गर्न पहिल्यैदेखि मन थियो । जब उहाँले फिल्म अप्रोच गर्नुभयो म एकदमै खुसी भएको थिएँ । तर, सस्पेन्स-थ्रिलर फिल्म अफर हुने होकि भन्ने डर पनि लागेको थियो । मलाई यो जनरा पिटिक्कै मन पर्दैन ।’
निर्देशक भुटियाले यसपटक आफूले कमर्शियल फिल्म बनाउन लागेको बताएपछि भने आर्यन ढुक्क भएका रहेछन् । फिल्ममा आफू कमेडी र रोमान्टिक दुबै अवतारमा देखिएको उनको भनाई छ । ‘मैले फरक फरक जनराको फिल्म गर्दै आएको छु । तर, मलाई दर्शकले लभस्टोरी फिल्ममा नै रुचाउनुभयो,’ उनले अगाडि भने- ‘कमेडी र लभस्टोरीको मिश्रण हो ‘च च हुई’ ।’
यो फिल्म उनका लागि बक्सअफिसमा सफल हुनैपर्ने दबाब छ । किनकि, उनी अभिनीत पछिल्ला कुनै फिल्मले निर्माताको लगानी सुरक्षित गर्न सकेका छैनन् । एक समयका ‘नम्बर वान’ अभिनेता अहिले आफ्नो स्टारडम फर्काउने दाउमा छन् । ‘च च हुई’ ले राम्रो व्यापार गर्न सफल भएको खण्डमा फेरि नेपाली फिल्ममा उनको रजगज चल्ने पक्का छ । यो फिल्म दर्शकमाझ व्यग्र प्रतिक्षामा छ ।

