महाशिवरात्रीको अवसर पारेर फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘लप्पन छप्पन २’ दुई महिना पछाडि धकलिएको छ । भिएफएक्सको काम नसकिने भएपछि फिल्मको रिलिज डेट पोस्टपोन्ड गर्नु परेको निर्देशक मुकुन्द भट्टले बताए । उनका अनुसार, फिल्मलाई अर्को वर्षको बैशाख ५ गते प्रदर्शन गर्ने तयारी भैरहेको छ ।
यो फिल्म गएको तीन वर्षअघिको फिल्म ‘लप्पन छप्पन’ को सिक्वेल हो । अघिल्लो श्रृंखलामा सौगात मल्ल, दयाहाङ राई अर्पण थापा, वर्षा सिवाकोटीलगायतका कलाकारहरुको प्रमुख भूमिका थियो । सिक्वेलमा दयाहाङ र वर्षा अटेका छैनन् । भने, सौगात र अर्पण यथावत छन् । फिल्ममा शिव श्रेष्ठ, अनुपविक्रम शाही, सुपर गुरुङ, आना ढकाल, शक्ति श्रेष्ठ थपिएका छन् ।
(1).jpg)
फिल्ममा दयाहाङको ठाउँमा शक्तिको प्रवेश भएको हो । उनी अभिनेता शिव श्रेष्ठका जेठा छोरा हुन् । ‘लप्पन छप्पन २’ को केही दिनअघि मात्र छायांकन सकिएको हो । नेपाल र अष्ट्रेलियामा छायांकन भएको फिल्मको फस्टलुक पोस्टर सार्वजनिक भैसकेको छ । जसमा सौगात र अर्पण फिचर्ड छन् । पोस्टरमा दुईको भिन्न लुक्सले दर्शकमा फिल्मप्रति कौतुहलता बढाएको छ ।
चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले संयुक्त रुपमा निर्माण गरेको फिल्मको कार्यकारी निर्माता प्रकाश कुँवर र निर्मल कुमार मिश्र हुन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । फिल्मका गीतमा मिस्टर आरजे, शम्भुजित बाँस्कोटा र दिपक आरजेको संगीत छ । इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स् पिक्चरको संयूक्त ब्यानरमा बनेको फिल्मलाई ‘डेन्जरस गेम’ भनिएको छ ।
‘लप्पन छप्पन २’ ले प्रदर्शनका लागि रोजेको फागुन ९ गतेबाट हात झिकेपछि अब बक्सअफिसमा तीन फिल्मबीच भिडन्त हुने भएको छ । रामबाबु गुरुङको ‘सेन्टी भाइरस’, विराज भट्टको ‘साङ्लो’ र दीपेन्द्र के. खनालको फिल्म ‘आमा’ आउँदो महाशिवरात्रीमा प्रदर्शन हुँदैछन् । तर, विराज फिल्मको प्रदर्शन मिति सार्ने मनस्थितिमा रहेको फिल्मवृतमा चर्चा छ ।

