Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(18 votes, avg 5.00/5.00)
Text size:-
+
-

आफ्नै नियम तोड्दै ‘ए मेरो हजुर ४’ मा अनमोल

फिल्मीखबर, काठमाण्डौ, 2019/11/17
अभिनेता अनमोल केसीले पहिलो पटक एउटै नायिकासँग दोहोर्‍याएर काम गर्ने भएका छन् । डेब्यू फिल्म ‘होस्टेल’ देखि पछिल्लो रिलिज फिल्म ‘ए मेरो हजुर ३’ सम्म उनले कुनै नायिकासँग दोहोर्‍याएन काम गरेका थिएनन् ।  सबै फिल्ममा उनको जोडी नयाँ अनुहार थिए । आफ्नै ब्लकबस्टर फिल्म ‘ए मेरो हजुर’ को चौथो श्रृंखलामा भने उनले अभिनेत्री सुहाना थापासँग दोहोर्‍याएर काम गर्ने भएका छन् । 
 
 
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ पछि अभिनेता अनमोल आफ्नो होम प्रोडक्सनको फिल्म ‘एन्टी हिरो’ गर्ने तयारीमा थिए । तर, योभन्दा अगाडि उनले साम्तेन भुटियाको फिल्म ‘धुरौपे’ गर्ने निर्णय लिए । केही दिन अगाडि मात्र स्क्रिप्टमा चित्त नबुझेपछि यो फिल्मबाट हात झिकेका अनमोलले शनिबार ‘ए मेरो हजुर ४’ साइन गरेका छन् । फिल्मलाई झरना थापाले निर्देशन गर्नेछिन् । 
 
सुनिल कुमार थापाले निर्माण गर्ने फिल्ममा सुहाना यसअघि नै अनुबन्ध भैसकेकी छन् । अनमोल र सुहानाको जोडी दर्शकले अत्याधिक रुचाएका कारण दोस्रो पटक सहकार्य गरिएको निर्देशक थापाले बताएकी छन् । सुहाना र अनमोल दुबै दोस्रो पटक एकअर्कासँग काम गर्न निकै उत्साहित छिन् । फिल्मको माघ २० गतेबाट छायांकन सुरु हुनेछ । भने, आउँदो दशैंमा प्रदर्शन गर्ने तयारी भैरहेको छ । 
 
‘ए मेरो हजुर ३’ भन्दा अगाडि दुई फिल्म ‘कृ’ र ‘क्याप्टेन’ ले बक्सअफिसमा नाफाको व्यापार गर्न नसक्दा अनमोलको स्टारडममाथि धेरैले औंला उठाउन थालेका थिए । तर, यो फिल्मको ‘ग्रान्ड सक्सेस’ ले उनको स्टारडम पुनः उत्कर्षमा पुर्‍यायो । दर्शकले विश्वास गरेको ब्रान्ड भएका कारण ‘ए मेरो हजुर ४’ पनि सफल हुने विश्वासमा अनमोलले आफ्नै नियम तोड्दै यो फिल्म गर्न लागेका हुन् । 
 
अनमोलले ‘ए मेरो हजुर ४’ पछि ‘एन्टी हिरो’ गर्ने 
 
वर्षमा एउटा फिल्म घरको गर्दै आइरहेका अभिनेता अनमोलले ‘ए मेरो हजुर ४’ पछि होम प्रोडक्सनको फिल्म ‘एन्टी हिरो’ गर्ने भएका छन् । अहिले यो फिल्मको स्क्रिप्टमा काम भैरहेको जानकारी प्राप्त छ । तर, निर्देशकको टुंगो लागेको छैन । फिल्ममा अनमोलले पिता भुवन केसीसँग पहिलो पटक स्क्रिन साझेदारी गर्दैछन् । फिल्ममा अनमोल हिरो र भुवन भिलेनको भूमिकामा हुनेछन् । 
 
‘ए मेरो हजुर ४’ मा लभर ब्वाईको रुपमा प्रस्तुत हुन लागेका उनी ‘एन्टी हिरो’ मा दोस्रो पटक एक्सन गर्दै देखिनेछन् । यसअघि उनलाई फिल्म ‘कृ’ मा एक्सन अवतारमा देखिएको थियो । ‘एन्टी हिरो’ का लागि अहिले निर्माण टिम अभिनेत्रीको खोजीमा छ । गएको महिना फिल्ममा अभिनेत्री जसिता गुरुङ हुने चर्चा चलेको थियो । तर, निर्माता केसीले यो हल्ला निराधार बताएका थिए । 
Most Visited News (monthly)