
संगीतकारको रुपमा आफ्नो बेग्लै पहिचान बनाएका कोशिश क्षेत्रीले आफूलाई अभिनेताको रुपमा पनि चिनाइसकेका छन् । आजभोली उनी गीतमा संगीत भर्न कम, फिल्ममा अभिनय गर्न बढी व्यस्त छन् । तर, दुर्भाग्य नै भन्नुपर्छ ! उनी अभिनीत कुनै फिल्मले निर्माताको लगानी सुरक्षित गर्न सकेका छैनन् । न त उनले वाहवाही हुने अभिनय नै पस्कन सकेका छन् ।
‘कालो दाई’ जस्तो चर्चित गीतमा संगीत भरेका उनले फिल्म ‘मोक्ष’ बाट फिल्मी करिअर सुरुवात गरेका थिए । उनको पछिल्लो रिलिज फिल्म ‘पर्व’ र ‘रातो गलबन्दी’ हुन् । तर, यी तीनै फिल्मले बक्सअफिसमा घुँडा टेके । फ्लप फिल्ममा ह्याट्रिक गरिसकेका उनलाई अहिले अभिनयभन्दा संगीत पेशा नै फापेको टिका-टिप्पणी हुने गरेको छ । तर, उनलाई यसको कुनै प्रवाह छैन ।
अब, कोशिशको नयाँ फिल्म ‘माया पिरिम’ आउँदो मंसिर २० गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । उनी यो फिल्ममा निभाएको भूमिकालाई लिएर निकै उत्साहित छन् । भने, फ्लप फिल्मको श्रृंखलामा पूर्णविराम लाग्नेमा विश्वस्त पनि छन् । टेक पौरखी राई निर्देशन रहेको फिल्ममा कोशिश क्षेत्री, सलोन बस्नेत, किरण चन्द, अन्जली अधिकारी, अर्जुन गुरुङलगायतको अभिनय छ ।
प्रेम कथामा आधारित फिल्मलाई सविन अधिकारीले लेखेका हुन् । प्रविन थापा र सविन अधिकारीको निर्माण तथा कोषराज दाहाल कार्यकारी निर्मातामा रहेको ‘माया पिरिम’ मा मोहन मरासैनी र युवराज दाहाल सह–निर्माताका रूपमा रहेका छन् । यो फिल्मलाई निरज कँडेलले खिचेका हुन् । फिल्मको गीतमा अभिनेता कोशिश स्वयंले संगीत भरेका छन् ।

