
हालै यूरोप ट्रिपबाट मुम्बई फर्किने क्रममा बलिउड अभिनेता सुशान्त सिंह राजपूतको स्वास्थ्य केही विग्रिएको थियो । जाँच गरेपछि उनमा डेंगूको संक्रमण देखिएको छ । उनले यो विरामीका कारण आफ्नो सबै प्रोजेक्ट तत्कालका लागि रोकेका छन् । उनी चाँडै एक कार्यक्रमका लागि अबूधाबी निक्लने तयारीमा थिए । तर, डेंगूका कारण यो यात्रा रद्द भएको छ ।
भारतीय मिडिया ‘जी न्यूज’ का अनुसार, डाक्टरले उनलाई तत्काल कुनै देशको यात्रा नगर्न र केही हप्ता आराम गर्न सल्लाह दिएका छन् । त्यस्तै, डेंगूको खबर बाहिर आएपछि सोसल मिडियामा सुशान्तलाई प्रशंसकहरुले स्वास्थ्य लाभको कामना गरेका छन् । सुशान्तभन्दा अगाडि पनि केही बलिउड सेलिब्रेटीमा डेंगूको संक्रमण देखिएको थियो ।
विद्या बालन, श्रद्धा कपूर, धर्मेन्द्र, ऋषि कपुर, लिजा हेडेनलाई डेंगू लागेको थियो । अभिनेता सुशान्त अब डेंगु पूर्ण रुपमा निको भएपछि मात्र नयाँ प्रोजेक्टमा आबद्ध हुने बताइएको छ । उनी चाँडै सुपरहिट हलिउड फिल्म ‘द फल्ट इन आवर स्टार्स’ को हिन्दी रिमेक ‘दिल बेचेरा’ मा देखिँदैछन् । यो फिल्मलाई लिएर उनी निकै उत्साहित छन् ।
सुशान्त पछिल्लो पटक फिल्म ‘छिछोरे’ मा देखिएका थिए । यो फिल्ममा उनको अपोजिटमा अभिनेत्री श्रद्धा कपूर थिइन् । फिल्मले बक्सअफिसमा सानदार व्यापार गरेको थियो । फिल्मसँगै अहिले उनी लभ लाइफका कारण निकै चर्चामा छन् । रिया चक्रवर्तीसँग उनी लिभिङ टूगेदरमा रहेको भारतीय मिडियाले बताएका छन् । तर, यस विषयमा दुबै मौन छन् ।

