अहिलेका जल्दाबल्दा अभिनेता पल शाहको शहरिया युवापुस्तामा राम्रो क्रेज छ । भिडियोबाट आफूलाई दर्शकमाझ चिनाएका उनले विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ४’ बाट डेब्यू गरेका थिए । यो फिल्म सफल भएपछि उनी रातारात ‘स्टार’ बने । यसपछि उनलाई भिडियोभन्दा धेरै फिल्मबाट अफर आउन थाल्यो । उनको दोस्रो फिल्म ‘म यस्तो गीत गाउँछु’ थियो ।
यो फिल्म पनि हिट साबित भयो । तर, तेस्रो फिल्म ‘जोनी जेन्टलम्यान’ ले बक्सअफिसमा घुँडा टेक्यो । यसपछि उनले मह सञ्चारको फिल्म ‘शत्रु गते’ गरे । यो फिल्म राम्रो चल्यो । तर, फिल्म हिट भए पनि ‘जस’ उनले पाएनन् । किनकि, उनको अभिनय र भूमिका चित्तबुझ्दो थिएन । उनको पछिल्लो रिलिज फिल्म ‘वीरविक्रम २’ हो । यो फिल्मप्रति उनको ठूलो आश थियो ।
(1).jpg)
तर, ‘जात्रै जात्रा’ सँग जुध्दा फिल्मले हलमा पानी भन्न पाएन । न त पलको काम नै रुचाइयो । हरेक फिल्मबाट अभिनयको आलोचना खेप्दै आएका उनी अहिले आफू अभिनीत सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेलमा व्यस्त छन् । सुदर्शन थापा निर्देशित फिल्ममा उनको जोडीको रुपमा अभिनेत्री पूजा शर्मा छिन् । फिल्म आउँदो फागुन २३ गते प्रदर्शनमा आउँदैछ ।
यो फिल्मभन्दा अगाडि उनले २० लाख पारिश्रमिक लिएर ‘वितेका पल’ फेम्ड निर्देशक सुरज सुब्बा ‘नाल्बो’ निर्देशित फिल्म ‘हृदय भरी’ गरेका थिए । यसको छायांकन सकिएको महिनौं भइसक्यो । तर, अहिलेसम्म प्रदर्शनमा आउन सकेको छैन । निर्माण टिमले गएको भदौ २७ गतेलाई फिल्मको रिलिज जुराएको थियो । तर, कात्तिक सकिँदासम्म पनि फिल्म प्रदर्शन हुने अत्तोपत्तो छैन ।
यसमा पलले एक पोल्ट्रिफार्म सञ्चालन गर्ने युवकको भूमिका निभाएका छन् । ‘हृदय भरी’ मा पलले पहिलो पटक फ्रेस अनुहारसँग स्क्रिन साझेदारी गरेकी छन् । यो फिल्मबाट श्रद्धा क्षेत्रीले डेब्यु गर्दैछिन् । पलको अपोजिटमा अभिनेत्री रेखा लिम्बु पनि छिन् । नीर शाह, सुनिल थापा, सलोन बस्नेतको पनि अभिनय रहेको फिल्म कहिले रिलिज हुने हो ? दर्शकमा चासो छ ।

